१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


नारायणगढ–मुग्लिन सडक आज दिनभर नखुल्ने


0
Shares

चितवन, असार १७ । गएरातिदेखि निरन्तर भएको वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न चार स्थानमा ठूला पहिरो खसेपछि आज दिनभर सडक सञ्चालन नहुने भएको छ ।

सडक खण्डको चार किलो, पाँच किलो, जलवीरे र भालुढुङ्गामा माथिबाट ठूलो पहिरो खसेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए ।

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको उनले जानकारी दिए । ‘पानी परिरहेको छ, माथिबाट पहिरो खसिरहेको छ, पन्छाउने सम्भावना छैन । पानी रोकिएमा पहिरो पन्छाउने काम हुनेछ,’ खनालले भने । उनका अनुसार अब वर्षात् रोकिएमा राति अबेरसम्ममा बाटो खुल्ने सम्भावना छ ।

बिहान ६ बजेबाट अवरुद्ध सडक ९ बजे केहीबेरका लागि खुलेको भए पनि पुनः ती ठाउँमा पहिरो खस्न थालेपछि पहिरो पन्छाउन नसकिएको उनले बताए ।

ठाउँठाउँमा पहिरो खसिरहेकाले सुरक्षित ठाउँमा बस्न वा वैकल्पिक बाटो प्रयोग गरेर गन्तव्यतर्फ जान आयोजनाले सबैमा आग्रहसमेत गरेको छ । बिहानदेखि सडक अवरुद्ध बनेपछि सडकको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

जोखिममा परेका यात्रु अलपत्र अवस्थामा रहेका छन् । (रासस)