
चितवन, असार १८ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर यातायात संचालन गरिएको छ । पहिरोले गर्दा शुक्रबार दिनभर अवरुद्ध सडक साँझदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।
आज विहानबाट भने दुबैतर्फ सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । नारायणगढ–मुग्लिन सडक खण्डको कबिलास–४ घुमाउने र चड्डी भञ्ज्याङ–९ का विभिन्न स्थानमा ठूलो पहिरो जाँदा बाटो अबरुद्ध भएको थियो । चार किलो र पाँच किलो भन्ने ठाउँमा पनि पहिरो खस्दा यात्रुले निकै सास्ती खेप्नुपरेको थियो ।
अबिरल पानीपछिको पहिरोका कारण दक्षिणकाली–कुलेखानी हुँदै हेटौडा जाने बाटो पनि अवरुद्ध भएको छ भने फर्पिङतर्फको बाटो पनि ठाउँ ठाउँमा पहिरोले भत्काएको छ ।
उता, हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक पनि अवरुद्ध भएको छ । म्याग्दीको दाना–३ तितरमा भीरबाट ढुंगा खसेर सडक अवरुद्ध भएको र डोजर प्रयोग गर्दा पनि हटाउन नसकिएको दाना प्रहरीले जनाएको छ ।
यसैगरी बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रे भीरमा पनि पहिरो खसेको जनाइएको छ । सडक अवरुद्ध भएसँगै स्थानीय बासिन्दा, पर्यटक र तीर्थयात्री समस्यामा परेका छन् ।
बिहानैदेखि प्रहरी, स्थानीयवासी, यातायात व्यवसायी र डोजर परिचालन गरेर सडक खुलाउने प्रयास गरिए पनि निरन्तर वर्षा भइरहँदा समस्या परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्