
लमजुङ, असार १९ । लमजुङको फलेनी गाविस वडा नं. ४ तल्लो माझखर्कका पहिरोबाट विस्थापित परिवारलाई अस्थायी टहरामा स्थानान्तरण गरिएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले तत्कालका लागि पहिरो पीडितलाई अस्थायी टहरोमा बस्ने व्यवस्था मिलाइएको बताए ।
गत बुधबार गाउँ माथिबाट आएको पहिरोमा परी १४ घर परिवार विस्थापित भएका थिए । उनीहरुलाई गाउँदेखि पाँचसय मिटर पर मकैबारीमा अस्थायी टहरो बनाएर बस्ने व्यवस्था मिलाइएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको पहलमा नेपाली सेना, प्रहरी र स्थानीय मिलेर अस्थायी टहरा बनाइदिएका हुन् ।
विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले प्रतिघर २ वटा त्रिपाल, एक थान टेन्ट, २ वटा कम्बल उपलब्ध गराएको छ ।
प्रतिक्रिया दिनुहोस्