१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


नेपाल–भारत प्रबुद्ध समूहको पहिलो बैठक काठमाडौंमा


0
Shares

काठमाडौं, असार २० । नेपाल–भारत प्रबुद्ध समूह, इमिनेन्ट पर्सन्स ग्रुपको पहिलो बैठक आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

बैठकमा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायतका द्विपक्षीय सन्धी–सम्झौता पुनरावलोकन, अधावधिक र आवश्यक परे खारेजसम्म गर्न दुबै देशका सरकारलाई सुझाव दिन दुबै देशका तर्फबाट यो समूह गठन गरिएको हो ।

नेपालका नेताहरुले बारम्बार उठाइरहने १९५० को सन्धि संशोधन गर्न चाहेको भए नेपालले ल्याउने प्रस्तावमा छलफल गर्न तयार एवं खुला रहेको बैठक अगावै भारतीय पक्षले जनाएको छ । तर नेपालका तर्फबाट भने यसमा खास तयारी भएको देखिन्न । भारतले भने सन्धी–सम्झौता संशोधनका लागि प्रस्ताव नल्याउने संकेत गरेको जनाइएको छ ।

यस समूहमा नेपालका तर्फबाट पूर्व मन्त्री नीलाम्बर आचार्य, पूर्व राजदूत डा. भेषबहादुर थापा, पूर्व सचिव सूर्यनाथ उपाध्याय, सांसद राजन भट्टराई सदस्य रहेका छन् ।

भारतका तर्फबाट भने भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, पूर्व राजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र लामा र भुवन उप्रेती रहेका छन् ।

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा भएको औपचारिक वार्तापछि जारी सातबुँदे सहमति पत्रको सातौं बुँदामा भारतले गठन गरेको समूहको नाम सार्वजनिक गरिएको थियो ।

दुबै सरकारले बेग्लाबेग्लै समूह गठन गर्ने र संयुक्त रुपमा एउटै प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई बुझाउने कार्यादेश छ ।

२०७१ साउन १९ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला दुबैतिर चार–चार सदस्य रहने गरी इपिजी गठन गर्ने, दुई वर्षको कार्यकाल दिने र एक–एक लाख डलर बजेट दिने सहमति भएको थियो ।

त्यसअनुसार नेपालले गत पुस अन्तिम साता र भारतले फागुन ८ गते समूहमा आफ्ना सदस्य घोषणा गरेका थिए ।