१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


कालो प्लास्टिक झोला निर्मुलीकरण अभियान


0
Shares

भोजपुर, असार २१ । भोजपुर नगरपालिका र सामुदायिक सेवा केन्द्र भोजपुरले सदरमुकाममा कालो प्लास्टिकको झोला निर्मुलीकरण अभियान चलाएको छ ।

भोजपुर नगरपालिकाले गतबर्ष पुस १५ गतेदेखिनै २० माइक्रोन भन्दामुनिको प्लास्टिक प्रयोगमा निषेध गरेको भए पनि सर्वसाधारणले अटेर गरेपछि नगरपालिकाले सामुदायिक प्रहरीसँग सहकार्य गरी निर्मुलीकरण अभियान चलाएको हो ।

प्लास्टिक झोला निर्मुलीकरण अभियानमा व्यापार गर्नेलाई रु ५०० र किनमेल गर्नेलाई रु १०० जरिवाना गरिएको भोजपुर नगरपालिकाले जनाएको छ । शुक्रबार २५ भन्दा बढी पसलमा राखिएका झोला नियन्त्रणमा लिएर कारबाही गरेको नगरपालिकाले जनाएको छ ।

भोजपुर सदरमुकामको चारभन्ज्याङ, बरबोट, मिनीमार्केट भोटेपसललगायतका क्षेत्रमा कालो प्लास्टिकको झोला अनुगमन गरिएको छ ।

सडक बत्ती बल्न छाडे
रात्रि समयमा आवतजावतका साथै सम्भावित आपराधिक घटना तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले भोजपुर सदरमुकाम क्षेत्रमा राखिएका अधिकांश सडक बत्ती बल्न छाडेका छन् ।

नेपाल विद्युत् प्राधिकरण भोजपुर शाखाले बजार क्षेत्रमा चार वर्ष अगाडि राखेका आधाभन्दा बढी बत्ती बल्न छाडिसकेका हुन् । प्राधिकरणले सदरमुकामका विभिन्न क्षेत्रमा १०० भन्दा बढी सडक बत्ती राखेको थियो ।

सदरमुकामको मुख्य चहलपहल हुने पानीट्याङ्की, हस्पिटल गेट, डाँडा गाउँ, बैंक रोड, बीचबजार, चार भञ्ज्याङ, भोटेपसल तथा बरबोटलगायतका स्थानमा सडक बत्ती राखिएको छ त्यसमध्ये पानीट्याङ्की क्षेत्रका लगभग सबैजसो बत्ती बल्न छाडेका छन् । त्यसैगरीे हस्पिटल गेट डाँडा गाउँ, बैंक रोड, बीचबजार चार भञ्ज्याङ, भोटेपसल क्षेत्रमा राखिएका सडक बत्ती पनि अधिकांश बल्न छाडिसकेका हुन् ।

सडक बत्ती बल्न छाडेको लामो समय भइसके पनि मर्मत सम्भारको लागि कसैले चासो दिएको छैन । जिल्ला विकास समिति भोजपुरले सडक बत्ती खरिदको लागि बजेट उपलब्ध गराएको थियो । सडक बत्तीको महसुल भने तत्कालीन भोजपुर गाविसले भुक्तानी गर्ने सहमति रहेको थियो । (रासस)