१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


स्वस्थ्य शिशुको प्रतिस्पर्धा, सबैभन्दा स्वस्थ्य आमा–बच्चा पुरस्कृत हुने


0
Shares

काठमाडौं, असार २१ । दैनिक ६० देखि ६५ बालबालिका जन्मने थापाथलीस्थित परोपकार प्रसूति गृहले आगामी कृष्णाष्टमीमा ‘स्वस्थ्य बच्चा प्रतिस्पर्धा’ को आयोजना गर्ने भएको छ ।

यसका लागि एक वर्षभित्र सोही अस्पतालमा जन्मेका बालबालिकाका अभिभावकले मंगलबार (आज)देखि आवेदन दर्ता गर्नसक्ने व्यवस्था अस्पताल प्रशासनले मिलाएको छ ।

अस्पतालको ५७औं वार्षिकोत्सवका अवसरमा कार्यक्रम गरी सबैभन्दा स्वस्थ्य बच्चा र आमालाई पुरस्कृत गरिनेछ ।

उक्त प्रतिस्पर्धामा सहभागिता जनाउन गर्भावस्थादेखि नै अस्पतालमा नियमित जाँच र खोप लगाएको हुनुपर्ने, जन्मेदेखि नै लगाउनुपर्ने खोप नियमित गर्दै आएको हुनुपर्नेजस्ता नियम छन् ।

उक्त कार्यक्रमका संयोजक राजु वैष्णवकाअनुसार बालबालिकाका उमेरअनुसार तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइन्छ ।

सोअनुसार जन्मेदेखि ४५ दिनसम्मको एक समूह, ४६ दिनदेखि ६ महिनासम्म र ६ महिना एक दिनदेखि एक वर्षसम्मका बालबालिकाको तौल, खोप लगाएको विवरणलगायतलाई आधार मानी क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिन्छ ।

आवेदन आगामी साउनको १९ गतेसम्मका लागि खुला गरिएको छ ।

अस्पतालले ५४ वर्षदेखि उक्त कार्यक्रमको आयोजना गर्दै आएको छ । रासस

फाइल फोटो