१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


बाढीका कारण अरनिको मार्ग अवरुद्ध, १५ घर र जीपसमेत बाढीले बगायो


0
Shares

       तस्विर:कपिल धितालको ट्वीटरबाट

सिन्धुपाल्चोक, असार २२ । सिन्धुपाल्चोकमा भोटेकोशी नदीमा आएको बाढीका कारण अरनिको राजमार्ग अबरुद्ध भएको छ ।

भोटेकोसी नदीमा आएको बाढीले बाह्रबिसेदेखि लिपिङसम्म बिभिन्न स्थानमा कटान गरेकाले बाह्रबिसेमाथिको राजमार्ग अबरुद्ध बनेको हो । मध्यराति आएको बाढीले तातोपानीदेखि बाह्रबिसेसम्म १५ घर बगाएको छ ।

यस्तै बाढीले तातोपानी भन्सार हाताभित्र रहेका दुई वटा ट्रिपर र तातोपानी भन्सारको क्यान्टिनसमेत बगाएको छ । यस्तै बाढीले बाह्रबिसेमा दुईवटा कुखुरा फार्म, एउटा जाली उद्योग र दुईवटा जीपसमेत बगाएको छ ।

बाढीले मध्य भोटेकोशी जलविद्युत् आयोजनाले मार्मिङ र मानेश्वारा जोड्ने बेलिब्रिजसमेत बगाएको छ । भोटेकोसीमा मंगलबार राति लेदो माटोसहितको बाढी आएको थियो ।

नेपाल–चीन सीमा क्षेत्रबाट दुई किलोमिटर उत्तरमा रहेको चिनियाँ क्षेत्रमा भारी बर्षासँगै गएको पहिरोले थुनिएको भोटेकोसी नदी एकास्सी खुल्दा बाढी आएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रविन्द्र केसीले जानकारी दिए ।

भोटेकोसी नदी सतहभन्दा झण्डै अरनीको राजमार्ग छुने गरी बढेपछि पाँच किलोमिटर तल खाडीचौरसम्म भागाभाग मच्चिएको प्रहरीले जनाएको छ ।

नदीको सतह बढेसँगै बाह्रविसे माथिका बस्ती अहिले खाली गराइएको छ । स्थानीयहरु डाँडामा गएर बसेका छन् ।

अहिले नदीमा पूर्ववत अवस्था भन्दा १ दशमलव ५ मिटर बढी पानी बगिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बाढीका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।