
बागलुङ, असार २२ । बागलुङको देवीस्थानस्थित लेवाङ खोलामा मंगलबार आएको बाढीले तीन घर र दुई झोलुंगेपुल बगाएको छ ।
बाढीबाट देवीस्थान –१ का हुमबहादुर गुरुङ, जीतबहादुर कुँवर र सुब्बासिंह सुनारको घर पूर्णरुपमा क्षति भएको छ ।
देवीस्थान –४ मा रहेको लेवाङ–हर्पे जोड्ने र देवीस्थान–७ मा रहेको जुगाखोला–पल्लो बिङ्लीखोला जोड्ने झोलुंगेपुल बाढीले बगाएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षासँगै देवीस्थापन–४ मा गएको पहिरोले लेवाङ खोलामा बाढी आएको थियो ।
बाढीले भौतिक सम्पत्ति र पशु चौपायाको क्षति भएपनि कुनै मानवीय क्षति नभएको बुर्तिवाङ इलाका प्रहरी कार्यालयका प्रमुख शिव क्षेत्रीले बताए ।
उद्धारपछि घर गुमाएका परिवारलाई सुरक्षित स्थलमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थल आसपासका थप १० घर पहिरोको जोखिममा रहेको प्रमुख क्षेत्रीले बताए ।
बाढीका कारण १६ खसी र एक सयभन्दा बढी कुखुरा मरेको जनाइएको छ । क्षतिको सम्पूर्ण लगत संकलन गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ ।
बाढीले देवीस्थान वडा नं ३ र ४ मा सन्चालित २९ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ ।
आयोजनाको विद्युत्गृहमा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द भएको स्थानीयबासी तमबहादुर कुँवरले बताए । आयोजना बन्द भएपछि त्यस क्षेत्रका सयौं घर अँध्यारोमा बस्न बाध्य छन् ।
सोही स्थानमा करिब दुईसय घरधुरीले उपभोग गर्दै आएको खानेपानी आयोजनाको ट्यांकीमा पनि क्षति पुगेको जनाइएको छ ।
एकै गाविसका दुई झोलंगेपुल बाढीले बगाएपछि सर्वसाधारणको आवात–जावतमासमेत कठिनाइ भएको छ ।
प्रहरीले आवागमन सुचारु गर्न वैकल्पिक व्यवस्था गर्ने तयारी गरेको छ । स्थानीय जुग्जाखोला र देवीस्थान बजारका दर्जनभन्दा बढी घर बाढी–पहिरोको जोखिममा रहेको जनाइएको छ ।
देवीस्थान र बोहरा गाउँको सयौं रोपनी क्षेत्रफलको खेतीयोग्य जमिनलाई बाढीले बगरमा परिणत गरेको स्थानीयबासीले बताएका छन् । पहिरोले देवीस्थान आसपासका क्षेत्रमा पनि क्षति पुर्याएको छ ।
बोहोरा गाउँ–७ थापागाउँमा पहिरोले गोठ भत्काउँदा दुई भैंसी मरेको प्रहरीले जनाएको छ । सोही स्थानका केही घरमा पनि पहिरोले क्षति पुर्याएको छ ।
पहिरोकै कारण निशी–४ गुमाखोलामा रहेको निशी तेस्रो लघुजलविद्युत् आयोजनाको कुलो भत्किएको छ ।
करिब १५ मिटर कुलो भत्केपछि आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्