१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


नेपालको आफ्नै भूग्रहको स्थापना गरिन्छ : सन्चारमन्त्री


0
Shares

काठमाडौं, असार २२ । सूचना तथा सन्चारमन्त्री शेरधन राईले नेपालको आफ्नै भू–ग्रहको स्थापना गर्न लागिएको जानकारी दिएका छन् ।

व्यवस्थापिका–संसदको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत् सूचना तथा सन्चार मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा उनले बाढी–पहिरो जोखिम जिल्लामा मोबाइलमार्फत् पूर्वसूचनाको जानकारी दिने सेवा सुरु गरिएको बताए ।

उनले राष्ट्रिय प्रसारण नीति, अनलाइन निर्देशिकालाई परिमार्जन समिति गठन गरिएको जानकारी दिँदै मन्त्रालयअन्तर्गतका निकायका व्यवस्थापन सुधार भइरहेको उल्लेख गरे ।

मन्त्री राईले पत्रकारलाई उपचारका लागि ५० प्रतिशत छुटका लागि आवश्यक गृहकार्य अगाडि बढाएको जानकारी दिँदै सूचना तथा सन्चार क्षेत्रमा लगानी बढिरहेको अवस्थामा यसलाई विशेष उद्योगको मान्यता दिन लागिएको बताए ।

राष्ट्रिय समाचार समितिको संस्थागत् क्षमता अभिवृद्धि गरिने, चलचित्रलाई गतिशील बनाइने, हुलाक सेवालाई थप व्यावसायिक बनाइने सुरक्षण मुद्रण समिति गठन गरिने, टेलिफोन सेवालाई विस्तार गरिने, २४० निर्वाचन क्षेत्रमा नयाँ टावर विस्तार गरिने उनले जानकारी दिए ।

मन्त्री राईले सामुदायिक सूचना केन्द्र विस्तार गरिने, नेपाल टेलिकमको प्राविधिक सुधार तथा गुणस्तरमा ध्यान दिइने, राष्ट्रका लागि मेरो योगदानअन्तर्गत ‘मेरो कल मेरो सेयर’को थालनी गरिने तथा भूकम्पप्रभावित क्षेत्रमा दूरसन्चार सेवा मर्मतलाई तीव्रता दिइने बताए ।

आमसन्चार नीति मन्त्रिपरिषदमा पेस हुने अवस्थामा रहेको जानकारी दिँदै मन्त्री राईले सो नीतिले आमसन्चार क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

मन्त्री राईको सो जवाफमाथि सांसद प्रेम सुवालले पूरक प्रश्न गरेका थिए । रासस