३० असार २०८२, सोमबार | Mon Jul 14 2025


मतगणनाका क्रममा ‘ओभरटाइम’ काम गर्दा २७२ जना कर्मचारीको मृत्यु


0
Shares

काठमाडौं । इन्डोनेसियामा निर्वाचनको मतगणनाका क्रममा ओभरटाइम काम गर्दा २७२ जना कर्मचारीको मृत्यु भएको छ ।

अन्य १८ सय ७८ कर्मचारी बिरामी परेका छन् । अधिकांशको मृत्यु थकाइजन्य रोगबाट भएको अधिकारीहरूले जनाएका छन् ।

इन्डोनेसियामा यही अप्रिल १७ मा सम्पन्न भएको निर्वाचनको मतगणना भइरहेको छ ।

हातबाटै मतगणना गर्दा लगातार लामो समयसम्म काम गर्नुपरेकाले धेरै कर्मचारीको थकाइबाट मृत्यु भएको बताइएको छ ।

निर्वाचन आयोगका प्रवक्ता एरिफ प्रियो सुसान्तोले १८ सय ७८ कर्मचारी बिरामी परेको बताए ।

निर्वाचनको मतगणना र रेखदेखका लागि ७० लाख मानिस खटिएका थिए ।

कर्मचारीको मृत्यु हुनुको कारण गर्मी र खराब परिस्थितिमा रातभरि काम गर्नु रहेको बताइएको छ ।

अधिकारीहरूका अनुसार यी कारणले कर्मचारीमा शारीरिक समस्या देखा परेको थियो ।

करिब २६ करोड जनसंख्या रहेको इन्डोनेसियामा चुनाव प्रक्रियामा हुने खर्च कम गर्नका लागि एकैसाथ विभिन्न निर्वाचन गराइएको बताइएको छ ।

त्यस्तै करिब १९ करोड ३० लाख मतदाता रहेको यो मुलुकमा चुनाव क्रममा ८० प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

निर्वाचन आयोगका अनुसार मुलुकभर ८ लाख मतदान केन्द्र राखिएका थिए ।

इन्डोनिसया चुनावी प्रक्रियाका लागि अधिकांश अस्थायी कर्मचारीको नियुक्ति गरिएको थियो ।

नियुक्तिका क्रममा सरकारी कर्मचारी सरह तिनीहरूको स्वास्थ्य परीक्षण गरिएको थिएन ।

निर्वाचन आयोगले मृत्यु भएकाहरूका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

आलोचकहरूले सरकारले एकै पटक विभिन्न चुनाव गर्दा पूर्वतयारी नगरेकाले ठूलो संख्यामा कर्मचारीले ज्यान गुमाएको बताएका छन् ।

निर्वाचन आयोगले आगामी मे २२ सम्म मतगणना पूरा हुने जनाएको छ ।(एजेन्सी)