१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


चट्याङबाट ६२, बाढी पहिरोबाट ४७ जनाको मृत्यु


0
Shares

काठमाडौं, असार २४ । नेपालमा बाढी पहिरोको तुलनामा चट्याङबाट धेरै मानवीय क्षति भएको पाइएको छ ।

विगत तीन महिनाको अवधिमा चट्याङमा परी ६२ जनाको मृत्यु भएको हो । आजको संसद बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले हालसम्म १४ वटा चट्याङका घटनामा ६२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । घटनामा परी १४० जना घाइते भएका छन् । चट्याङ लागेर ३ घर पूर्ण र ७ घरमा आंशिक क्षति पुगेको उनले जानकारी दिए ।

यसैगरी दुई महिनाको अवधिमा बाढी पहिरोमा परेर ४७ जनाको मृत्यु भएको छ । संसद बैठकमा गृहमन्त्री बस्नेतले जेठ १ देखि असार २३ गतेसम्म आएको बाढी पहिरोको ११२ घटनामा ४७ जनाको मृत्यु भएको जानकारी दिए । जबकी अरु १६ जना अझै हराइरहेको र ५७ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

१३८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको तथा १६० घरमा आंशिक क्षति पुगेको तथ्यांक गृह मन्त्रालयले दिएको छ । सिन्धुपाल्चोकको भोटेकोशीमा आएको बाढीले ठूलो क्षति पुर्‍याए पनि सुरक्षाकर्मीले समयमै सचेतता अपनाएका कारण मानवीय क्षति रोक्न सकिएको दावी पनि गृहमन्त्री बस्नेतले गरे ।

अरनिको राजमार्गको ४ किलोमिटर सडक अवरुद्ध भएको छ र बाढी प्रभावित सिन्धुपाल्चोकवासीलाई अन्यत्र वा नजिकैको सुरक्षित स्थानमा सार्ने तयारी भएको उनको भनाइ छ ।