१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


भोटेकोसीको बाढीले ६० घर बगायो, डेढ सय घर उच्चजोखिममा, ‘नदीको बहाब बजारतर्फ बढ्दैछ’


0
Shares

राम केसी (रासस)

चौतारा, असार २४ । भोटेकोसी नदीमा मंगलबार राति आएको बाढीले सिन्धुपाल्चोकको तातोपानी गाविसमा हालसम्म ६० घर बगाएको छ ।

बाढीबाट विस्थापन भइ कोदारीको चौकीडाँडामा आश्रय लिएर बसिरहेका करिब १०० मध्ये ५४ जनालाई नेपाली सेनाको हेलिकोप्टरले शुक्रबार अपराह्न बाह्रबिसे ल्याएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

तातोपानी र लिपिङ बजारमा उच्चजोखिममा रहेका करिब २०० घरमध्ये अझै करिब डेढ सय घर उच्चजोखिममा छन् ।

नदीको बहाब बजार क्षेत्रतर्फ बढिरहेको र निरन्तर कटान गरिरहेकाले यही अवस्थारहे सडकछेउका सबै घर एक सातासम्ममा बगाइसक्ने सम्भावना रहेको प्रहरी निरीक्षक भुसालले बताए ।

बाढीले तातोपानी गाविस लार्चास्थित सीमा प्रहरी कार्यालयसमेत असुरक्षित रहेकाले प्रहरीहरु चौकीडाँडास्थित कोदारी मावि भवनमा आश्रय लिइरहेका छन् ।

त्यहाँ आश्रय लिइरहेकामध्ये ४०–५० सर्वसाधारण यसअघि नै सुरक्षित ठाउँमा गइसकेका छन् भने बाँकीलाई पनि उद्धार गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताए ।

बाह्रबिसेबाट तातोपानी लगिएका ३२ विद्युत्खम्बा, तार तथा एउटा ट्रान्सफर्मर बगाएकाले तातोपानी, लिस्ती, फुल्पिङकट्टी, मार्मिङ, गातीलगायत गाविसमा विद्युत् तथा सन्चार सम्पर्कविच्छेद भएको प्रजिअ गोकर्णमणि दुवाडीले बताए ।

बाढीले विभिन्न स्थानमा पहिरो तथा पक्कीसडक कटानले गर्दा बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किमी सडकमा यातायात ठप्प छ ।

नदीले घर बगाएपछि तातोपानी र लिपिङका मानवबस्ती पूर्णरुपमा शून्य भएको छ ।

बाढीले यसअघि एउटा विद्यालय र खाजाघरसहित २२ घर, एउटा बेलीब्रिज र एक झोलुंगेपुल बगाएको थियो ।

बाढीले माथिल्लो भोटेकोसी आयोजनाको बाँधलाई क्षति पुर्‍याउनुका साथै विद्युत्गृहका चार सवारी–साधन बगाएको थियो ।