
नयाँ दिल्ली, वैशाख १५ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फेरि सत्तामा आउन प्रयासरत छन् । भारतीय जनता पार्टीका तर्फबाट फेरि पनि प्रधानमन्त्रीका रुपमा निर्विकल्प व्यक्तित्व बनेका मोदी पार्टीलाई चुनाव जिताउन प्रचारप्रसारमा उत्तिकै खटिएका छन् ।
उनले बाराणसीबाट लोकसभाका लागि उम्मेदवारी दर्ता गरिसके । निकै तामझामका साथ उम्मेदवारी दर्ता गरेका मोदीलाई उनको निर्वाचन क्षेत्रमा ‘बोर्डर सेक्युरिटी फोर्स’ (बीएसएफ) का एक पूर्वजवानले उम्मेदवारी दिँदै चुनौती दिएका छन् । सोही क्षेत्रबाट कांग्रेसले अजय राय र समाजवादी–बहुजन समाजवादी गठबन्धनबाट शालिनी यादव उम्मेदवार बनेका छन् । उनीहरुको तुलनामा बीएसएफका पूर्वजवान तेजबहादुर यादवको चर्चा बढी छ ।
तेजबहादुरले गत वर्ष भारतमा ठूलो चर्चा बटुलेका थिए । त्यही चर्चा अन्ततः उनले बीएसएफबाट जागिर गुमाउनुपर्ने प्रमुख कारण बन्यो ।
उनले ब्यारेकभित्र जवानहरुलाई दिने खानाका बारेमा एक भिडियोमार्फत गुनासो गरेका थिए । सामाजिक सञ्जालमा उनको भिडियो निकै भाइरल भएको थियो ।
उनको गुनासो सम्बन्धित निकायले सुनुवाई गरेन । गृह मन्त्रालयसम्म उनले उजुरी गरे तर, कतै सुनुवाई भएन । बरु उल्टै, ब्यारेकभित्रका कुरा सार्वजनिक गरेको भन्दै उनी र उनको परिवारलाई मानसिक यातना दिने लगायतका काम भए । सो घटनाको छानबिनपछि उनलाई सेवाबाट हटाइयो ।
हरियाणा निवासी उनी मोदीकै चुनावी क्षेत्रमा उम्मेदवार बनेका छन् । ‘फौजमाथि राजनीति गर्नेहरुलाई निर्वाचनमा पराजित गर्न’ भन्दै उनी मोदीकै निर्वाचन क्षेत्रमा चुनावी मैदानमा होमिएका हुन् ।
‘काशी विश्वनाथको आशिर्वादबाट नक्कली चौकीदारलाई हराउनु छ,’ उनले भने, ‘देशको फौजलाई बदनाम गर्नेहरुलाई परास्त गर्न म चुनावी मैदानमा उत्रिएको हुँ ।’ उनले ‘सर्जिकल स्ट्राइक’ का नाममा मोदीले राजनीतिक लाभ लिन खोजेको आरोप पनि लगाएका छन् । ‘सेनाले यस्तो कारवाही पहिला पनि गर्दै आएको थियो, त्यतिबेला कसैले राजनीतिक लाभ लिने प्रयास गरेन,’ उनले भने, ‘अहिले राजनीतिक लाभ लिनका लागि यस्ता कुरा बाहिर ल्याउने गरिएको छ ।’
मोदीले देशको सुरक्षा अवस्था बलियो बनाएको दावी गरेको विषयमा पनि उनले कडा आपत्ति जनाएका छन् । ‘देशको सुरक्षा अवस्था त्यति बलियो थियो भने पुलवामाजस्तो आतंकवादी हमला कसरी भयो ?’ उनले प्रश्न गरे ।
मोदी र उनको दलका नेताहरुलाई अघि सारेको ‘चौकीदार’ नाराप्रति पनि उनले कडा प्रश्न गरेका छन् । ‘उनीहरु कसरी चौकीदार भए ? चौकीदार त हामी हौं,’ उनले भने, ‘मोदीजी साँच्चै नै चौकीदार हो भने रफाल मामलाको फाइल कसरी चोरी भयो ? नीरव मोदीजस्ता आर्थिक अपचलन मुद्दाका आरोपीहरु कसरी विदेश भाग्न सफल भए ?’
विगत ७० वर्षको इतिहासमा देशमा पहिलो पटक एक सैनिक जवानले प्रधानमन्त्रीविरुद्ध उम्मेदवारी दिएको जिकिर गर्दै उनले भने, ‘हेर्दैजानुस्, यो झिल्को कसरी फैलिन्छ !’ (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्