Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


मोदीलाई बालुवा–माटोले बनेको मिठाइ दिने तयारी !


0
Shares

कोलकाता, वैशाख १४ । केही दिनअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड अभिनेता अक्षय कुमारलाई दिएको अन्तरवार्ता निकै चर्चामा आयो । अन्तरवार्तामा मोदीले व्यक्तिगत जीवन, आफ्नो स्वभाव, राजनीतिक बृत्तमा आफ्नो सम्बन्धलगायतका विषयमा टिप्पणी गरेका थिए ।

अन्य दलका नेताहरु, विदेशी नेताहरुसँगको सम्बन्धबारे पनि मोदीले अन्तरवार्तामा खुलेर चर्चा गरेका थिए । अक्षय कुमारले सोधेको एक प्रश्नको जवाफमा मोदीले पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमुल कंग्रेसकी नेतृ ममता बनर्जीलाई ‘दिदी’ भनेर सम्बोधन गर्दै वर्षमा एक–दुई पटक आफूलाई कुर्ता र मिठाइ पठाउने गरेको जनाएका थिए ।

मुख्यमन्त्री बनर्जीले मोदीको उक्त भनाइ ‘राजनीतिक रुपमा फाइदा लिन खोजेको’ भन्दै आपत्ति जनाएकी छन् । उनले शिष्टाचारलाई राजनीतिकरण गरेर मोदीले चुनावमा फाइदा लिन खोजेको बताएकी हुन् ।

उनले एक चुनावी सभालाई सम्बोधन गर्दै भनिन्, ‘अब मोदीलाई माटो–बालुवाले बनेको मिठाइ पठाउँछु, खाएर दाँत भाँचिन्छ ।’

उनले मोदी चुनावी कार्यक्रमका साथ बंगाल आउने जिकिर गर्दै भनिन्, ‘यहाँ आएको बेला मोदीलाई स्थानीयले बालुवा–माटोले बनेको मिठाइ दिनेछन्, खाँदा दाँत भाँचिनेछ ।’

उनले शिष्टाचारको नाताले आफूले कहिलेकाहीँ मोदीलाई कपडा र मिठाइ पठाउने गरेको जिकिर गर्दै भनिन्, ‘तर यसलाई उहाँले राजनीतिक मुद्दा बनाउनु भयो ।’ (एजेन्सी)