३० असार २०८२, सोमबार | Mon Jul 14 2025


श्रीलंकाका प्रधानमन्त्रीको जिकिर : विस्फोटको चेतावनीबारे मलाई जानकारी थिएन


0
Shares

कोलम्बो, वैशाख १४ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले गत आइतबार भएको शृंखलाबद्ध बम विस्फोटको चेतावनीबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

बीबीसीसँगको कुराकानीमा प्रधानमन्त्री विक्रमासिंघेले यसबारेमा जासुसी संयन्त्रले आफूलाई कुनै सूचना नदिएको बताएका हुन् । गत आइतबार श्रीलंकाका चर्च तथा होटलहरुलाई निशाना बनाएर भएको आत्मघाती बम विस्फोटमा कम्तीमा २ सय ५० जनाको मृत्यु भएको थियो । श्रीलंका सरकारले यसलाई सुरक्षा तथा गुप्तचर संयन्त्रमा कमजोरी भएको जनाएको छ ।

यसै घटनालाई लिएर श्रीलंकाका प्रहरी प्रमुख र रक्षासचिवले आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । प्रधानमन्त्री विक्रमासिंघेले भने सुरक्षा र गुप्तचर निकाय चुके भन्दैमा आफूले राजीनामा दिनु नपर्ने तर्क गरेका छन् । उनले सुरक्षा र गुप्तचर निकायले हमलाबारे जानकारी दिएको र आफूले कारबाही नगरेको भए आफूले पनि राजीनामा दिनुपर्ने अवस्था आउने जिकिर गरे । यसबारे आफूलाई पूर्वजानकारी नभएकाले केही गर्न नसकिने उनको भनाइ थियो ।

यसअघि श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलंकाको गुप्तचर विभागलाई उद्धृत गर्दै मुलुकमा १३० जना संदिग्ध इस्लामिक स्टेटका लडाकू रहेको र उनीहरुमध्ये अझै ७० जनाको खोजी भइरहेको बताएका थिए ।

यसैबीच श्रीलंकाको प्रहरीले सम्मनथुराईस्थित एक घरमा छापा मारेको छ । आइतबार भएको बम विस्फोटका क्रममा हमलाकारीले उक्त घरलाई आश्रय बनाएको बताइएको छ । (एजेन्सी)