
राजविराज, साउन ११ । भाइलाई अपहरण गर्ने दाइसहित तीन युवकलाई सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सप्तरीको रौतहट गाविस–२ बस्ने गंगाई दासका ८ वर्षीय छोरा सिकेन्द्रलाई अपहरण गर्ने सिकेन्द्रको ठूलो बुबाको छोरा (दाइ) १६ वर्षीय जितेन्द्रकुमार दास र १८ वर्षीय दिलीपकुमार दास तथा १५ वर्षीय अरविन्दकुमार दासलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएको हो ।
सिरहाको लहानस्थित ग्लोबल बोर्डिङ स्कुलमा अध्ययनरत् सिकेन्द्रलाई घरनजिकैको चौरबाट तीन दिनअगाडि ललाइ–फकाइ उनीहरुले स४प ३९३३ नम्बरको यमाहा मोटरसाइकलमा चढाएर भारतको लोकाहा हँुदै जटही भन्ने ठाउँसम्म पुर्याएको प्रहरीले जनाएको छ ।
बालक अपहरणपछि उनको परिवारलाई अरविन्दले प्रयोग गरेको ९८२५७४२७५९ नम्बरको मोबाइलबाट अपहरणकारी तीनैजनाले फोन गरी रु १५ लाख फिरौती माग गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी गराए ।
उनकाअनुसार अपहृत बालकका काका झवर दासले प्रहरीलाई जानकारी दिएका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय प्रहरीको सक्रियतामा अपहृत बालकलाई उद्धार गरेका हुन् । अभियुक्त तीनैजनालाई प्रहरीले पक्राउसमेत गरेको छ ।
अभियुक्तविरुद्ध अपहरण तथा शारीरिक बन्धक मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । रासस
प्रतिक्रिया दिनुहोस्