Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


जेट एयरवेजका सबै उडान बन्द


0
Shares

नयाँदिल्ली, वैशाख ५ । भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगन गरेको छ । 

इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान गरेको थियो ।

जेट एयरवेजले उडान स्थगन गर्नुको विकल्प नभएको जनाएको छ । कम्पनीले चाँडै उडान शुरु गर्ने आशा पनि व्यक्त गरेको छ ।

कम्पनीमाथि एक अर्ब २० करोड ऋणको बोझ छ र हप्तौंदेखि ऋणदाताको खोजीमा कम्पनी रहेको छ । कम्पनीले जारी गरेको वक्तव्यमा ऋणदाताको खोजी भइरहेको तर अपेक्षित नतिजा प्राप्त भइनसकेको जनाएको छ । 

भारत सरकारले जेट एयरवेजको योजनामा लगानीका सम्भावना पहिल्याउन राज्य सञ्चालित बैंकहरुलाई अनुरोध गरिसकेको छ । यस कम्पनीमा हाल २३ हजारले रोजगारी पाएका छन् । जेट एयरवेज २५ वर्षअघि भारतीय व्यापारी नरेश गोयलले स्थापना गरेका थिए । उनले गत महिना अध्यक्षको पदबाट राजीनामा दिएका थिए ।

कम्पनीका पाइलट, इन्जिनियर र ग्राउन्ड कर्मचारीले महिनौंदेखि तलब सुविधा पाउन सकेका छैनन् । बिमान सेवाको स्थगनसँगै टिकट लिइसकेका विश्वभर हजारौं यात्रु अलपत्र परेका छन् । 

‘गएराति स्टेट बैंक अफ इन्डियाले जेट एयरवेजलाई पत्र पठाई अल्पकालीन ऋण उपलब्ध गराउन नसकिने सूचना दिएको छ,’ एयरलाइन्सले भनेको छ, ‘ऋणदाताबाट कुनैपनि किसिमको आपतकालीन वा दिर्घकालीन लगानीको सुनिश्चिचता नभएकाले इन्धन वा अरु दैनिक कार्यसञ्चालनका लागि रकम अभाव भएको छ । त्यसैले तत्काल लागू हुनेगरी जेट एयरवेज सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडान रद्द गर्न बाध्य भएको छ ।’ (रासस/एएफपी)