१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


नेवि संघमा नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा सातजना उम्मेद्वार


0
Shares

काठमाडौं, भदौ १ । नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बिहान ७ बजेदेखि सुरु गर्ने भनिएको मतदानमा केही ढिला भएको छ ।

महाधिवेशन उद्घाटनको ११ दिनपछि नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि मतदाताबाट चुनिने १ सय २९ पदका लागि ६ सय ८५ जनाको उम्मेदवारी परेको छ ।

कूल १ सय ५१ सदस्यीय कार्यसमितिमध्ये १ सय २९ जना मतदानबाट र बाँकी मनोनित हुनेछन् । अध्यक्ष, ११ उपाध्यक्ष, दुई महामन्त्री, १३ सहायक महामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुने छन् ।

अध्यक्षका लागि सात जना प्रतिस्पर्धामा छन् । अध्यक्षमा नैनसिंह महर, मनोजमणि आचार्य, आनन्दराज त्रिपाठी, शुभराम बस्नेत, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र बचन कार्कीबीच प्रतिस्पर्धा छ । उम्मेदवार पदमराज पन्तले उम्मेदवारी फिर्ता लिएपछि सात जनाबीच प्रतिस्पर्धा हुन लागेको हो ।

नैनसिंह महर कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षको साझा उम्मेदवार हुन् । आचार्य र त्रिपाठी नेता रामचन्द्र पौडेल पक्षका र बस्नेत खुमबहादुर खड्का पक्षका हुन् ।

दुई महामन्त्रीका लागि पाँच जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदका लागि ४ जना प्रतिस्पर्धामा छन् ।

साँझ सात बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ । मतदान सकिएसँगै मतगणना सुरु हुने छ । विद्युतीय मतदान हुने भएकाले निर्वाचन सकिएको दुई घण्टामै परिणाम सार्वजनिक गर्न सकिने निर्वाचन समितिले जनाएको छ ।