
काठमाडौं, भदौ २ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि विहीबार भारत गएका छन् ।
भ्रमणक्रममा निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
मन्त्री निधिले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग पनि भेटघाट गर्नेछन् ।
‘नयाँ सरकार भारतसँग राम्रो सम्बन्ध चाहन्छ, मधेसी दलको माग सम्बोधन गर्न तयार छ’ भन्ने सन्देश प्रवाह गर्नुका साथै प्रधानमन्त्री दाहालको भारत भ्रमण तय गर्नु निधि भ्रमणको उद्देश्य रहेको छ ।
भारत प्रस्थन गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग मन्त्री निधिले आफ्नो भारत भ्रमण भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिने उद्देश्यले भएको बताए ।
उनले नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइ प्रदान गर्न आफ्नो भारत भ्रमण भएको बताउँदै राष्ट्रपति विद्यादेवी भण्डारीकोतर्फबाट नेपाल भ्रमणको निमन्त्रणा भारतीय राष्ट्रपति मुखर्जीलाई दिने जानकारी दिए ।
उनले नेपाल र भारतको सम्बन्धलाई सुदृढ र बलियो बनाउन आफूले भारतीय नेताहरुसँग छलफल गर्ने जानकारी पनि दिए ।
निधिले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउन आफ्नो भ्रमण महत्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्