२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दिनभर हिडिरहनुपर्ने सांस्कृतिक यात्रा मतया सुरु


0
Shares

ललितपुर, भदौ ४ । ललितपुरमा श्रृङभेरी वा नेकु जात्राको नामले प्रचलित बौद्ध सांस्कृतिक यात्रा मतया सुरु भएको छ ।

विहान सबेरै चक्रबहिलबाट सुरु भएको यो यात्रामा श्रद्धालुहरु दिनभर लस्करै हिडेर चार दिशामा रहेका ४ वटा अशोक स्तुपा, १८ वटा बहालसहित विभिन्न विहार, चैत्य, धर्मधातु परिक्रमा गर्ने गर्दछन् ।

मतयाको अर्थ दीप लिएर गरिने यात्रा हो । मुख्यतः यस यात्रामा दिवंगत आत्मा सुखावति भुवनमा बास होस् भनी कामना गर्ने गरिन्छ भने आस्था र अनुभवकै लागि यो कठीन यात्रामा सहभागी हुनेहरुको सख्या पनि उल्लेख्य रहेको छ ।

यो यात्रा १४ सय वर्ष अघि लिच्छवि राजा बालार्चन देवको पालादेखि सुरु भएको मानिन्छ भने राजा सिंहकेतु र रानी सुलक्षण देवीको कथाबाट प्रभावित छ ।

राजा सिँहकेतु अर्को जन्ममा राँगो र रानी सुलक्षणदेवी सोही घरमा ब्राम्हणकी छोरी भएर जन्मेको प्रसंग कथामा छ ।

राँगोको मृत्यु भएपछि रानी सुलक्षणदेवीले आफ्नो पूर्वजन्मको पतिको स्मरणमा सो राँगाको हाडहरुको चैत्य बनाइ एउटा सिङको गजुर सजाई अर्को सिङ फुकेर बाजा बजाउँदै चैत्य परिक्रमा गरेका कथन छ ।

आजपनि श्रृङभेरी नेकू जात्रामा राँगाको सिङबाट बनाइएको बाजा सहित दुर्लभ नौबाजा बजाउने समेत गरिन्छ ।

यात्रामा मुकुण्डो र भेषभुषा लगाई हास्यब्यङ्ग गर्ने चलन पनि रहेको छ भने ठाउँठाउँमा सहभागी श्रद्धालुका लागि आवश्यक सामग्रीको ब्यवस्था पनि गरिएको हुन्छ ।