
काठमाडौं, भदौ ४ । सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै डाक्टर गोविन्द केसी र उनका समर्थकहरुले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् ।
आफूसँग भएको सहमति कार्यान्वयन गर्न दबाब दिन डा. केसी र उनका समर्थकहरुले बालुवाटारमा धर्ना दिएका हुन् । उनीहरुले एक घण्टासम्म उभिएरै धर्ना दिएका थिए ।
हामीसँग कुरा गर्दै डा. केसीले विगतमा भएका सम्झौताप्रति सरकार गम्भीर नभएको भन्दै चेतावनी दिन आज धर्नामा बसेको बताए । माग पूरा नभए अझ कडा संघर्ष कार्यक्रम अघि सार्ने उनले चेतावनी दिए ।
डा. केसीले गत साउन २९ मा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी सरकारसँग भएका सम्झौता र संसद्मा दर्ता भएको चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने माग समेटिएको ६ बुँदे मागपत्र बुझाएका थिए ।
आठौँ अनशनको १६ औँ दिनमा साउन ९ गते सरकार र डा. केसीबीच चार बुँदे सहमति भएको थियो । सरकारले सहमति कार्यान्वयनमा चासो नदेखाएको डा. केसीको आरोप छ ।
उनी शिक्षा ऐनमा संशोधन गरिनुपर्ने, पाँच वर्षभित्र सरकारी शिक्षण संस्थामा मेडिकल स्नातकोत्तर, पिजी ७५ प्रतिशत निःशुल्क हुनुपर्ने, काठमाडौं उपत्यकामा १० वर्षभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, मेडिकल कलेज कम्पनी ऐनअनुसार दर्ता हुने प्रावधान खारेज गरी सेवामूलक ऐनअनुसार दर्ता हुनुपर्नेलगायतका माग राख्दै आठ पटक आमरण अनशन बसेका थिए ।
प्रतिक्रिया दिनुहोस्