
-जितेन्द्र भण्डारी, ईमेज
पाँचथर, भदौ ६ । पहाडमा हुने बसाईसराई रोक्न भन्दै सरकारले मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएको पाँचथरको फिदिमसहित १० वटा स्थानलाई नमूना शहर घोषणा गरे पनि शहरका भौतिक पूर्वाधार निर्माणको काम भने सुस्त गतिमा भइरहेको छ ।
६ वर्ष बित्न लाग्दासमेत नयाँ शहर आयोजनाको कार्यालयले दीर्घकालिन सोच समेत बनाउन सकेको छैन । तीन वर्षअघि पांचथरको फिदिममा स्थापना भएको नयाँ शहर आयोजनाको कार्यालय अहिले सुस्ताएको छ ।
घोषणा गरिएको नमूना शहरलाई सरकारले समेत प्राथमिकतामा नराख्दा नमूना शहरको कामले खासै गति लिन नसकेको हो । अहिलेसम्म कार्यालयले दिर्घकालिन रणनीतिक योजना समेत बनाउन नसकेको गुनासो सरोकारवालाको छ ।
भौतिक पूर्वाधार निर्माण गरी एकीकृत वस्ती बसाउनु अहिलेको प्रमुख आवश्यकता रहेको फिदिमका ब्यवसायी दिपक नेपाल बताउँछन् ।
नयाँ शहर कार्यालयले भौतिक पूर्वाधारको विकास सँगसँगै प्राविधिक शिक्षा, टिचिङ हस्पिटल, एमबिबिएस कक्षा संचालन गर्नुपर्ने तर्फ समेत जोड दिनुपर्ने नागरिक समाजका अगुवा युधिष्ठिर राज आमागाई बताउँछन् ।
नयाँ शहर आयोजनाको कामलाई गति दिन सरकारले समेत सहयोग गर्नुपर्ने उद्योग वाणिज्य संघ पाँचथरका जिल्ला अध्यक्ष मित्र प्रसाद काफ्ले बताउँछन् ।
कार्यालयले गत आर्थिक वर्ष ०७२/०७३ मा सार्वजनिक पार्क निर्माण, नयाँ शहरको नाममा रहेको सरकारी जग्गाहरु छुट्याई संरक्षण गर्ने, सडकको स्तरोन्नति लगायतका काम गर्न ४ करोड २१ लख रुपैयां वजेट विनियोजन भएपनि २ करोड ७८ लाख ६८ हजार अर्थात ६६ प्रतिशत मात्रै काम गरेको थियो ।
कार्यालयले दिर्घकालिन सोच बनाइसकेकोले अव त्यस्तो धेरै समस्या नरहेको नयाँ शहर आयोजनाका कार्यालय प्रमुख दिनेश कृष्ण पोटेले बताउँछन् ।
सरकारले पाँचथरको फिदिमसहित तेह्रथुमको वशन्तपुर,सिन्धुलीको खुरकोट,धादिङको वैरेनीगल्छी लगायतका शहरलाई नमूना शहर घोषणा गरेको छ । तर, सबै शहरको काम कछुवा गतिमै अघि वढिरहेको छ । यसतर्फ सरकारी निकायबाटै पहल हुनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्