
सुडान, वैशाख १ । सुडानका सैन्य परिषद्का प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुल फतह अब्दुर्रहमान बुरहानले सैन्य ‘कू’को दुई दिनपछि व्यवस्था परिवर्तनको शपथ लिएका छन् ।
टेलिभिजन सम्बोधनमार्फत जनरल अब्दुर्रहमानले लोकतन्त्र पुनर्स्थापित गर्नका लागि आमचुनाव गर्न लाग्ने करिब दुई वर्षको समयसम्म सेनाले शान्ति, व्यवस्था र सुरक्षा बनाइराख्ने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारी संस्थाहरुको पुनर्गठन, रातको समयमा लगाइएको कर्फ्यु हटाउने र राजनीतिक बन्दी रिहा गर्ने घोषणासमेत गरे ।
सबै प्रान्तीय सरकार भंग गर्दै मानवअधिकारको सम्मान गर्ने बचन दिएका जनरल अब्दुर्रहमानले जनजीवन सामान्य बनाउन विपक्षलाई समेत आह्वान गरे ।
गत शुक्रबारमात्र ‘कू’ को नेतृत्व गर्ने जनरल बुरर्हामले राजीनामा दिएपछि जनरल अब्दुर्रहमाने सत्ताको नेतृत्व सम्हालेका छन् ।
यता नागरिक सरकारको माग गर्दै प्रदर्शन भने जारी छ । गत बिहीबार ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसीरलाई पक्राउ गरी सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्