
काठमाडौं, भदौ १० । नवनियुक्त सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कर्मचारीलाई आग्रह र पूर्वाग्रही नराखी ढुक्क भएर काम गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा सामान्य प्रशासन मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री बुढाथोकीले निर्देशन दिँदै भने–‘म कुनै आग्रह र पूर्वाग्रहमा सन्चालिन हुने छैन । क्षमताका आधारमा काम गर्नुहोस् । मेरो साथ हुन्छ ।’
योग्य र क्षमता भएपनि पहुँच नपुगेर पछाडि परेका कर्मचारीलाई अगाडि बढ्न आग्रह गर्दै उनले पछिपरेका कर्मचारीको मनोबल उठाउन आफूले प्रयास गर्ने बताए ।
उनले क्षमताका आधारमा कर्मचारीलाई पुरस्कार र दन्डको व्यवस्था गरिनेसमेत जानकारी गराए ।
‘परिश्रमी कर्मचारीलाई पुरस्कार दिइनेछ । काम नगर्ने कर्मचारीलाई दन्डको पनि व्यवस्था हुन्छ’–उनले भने ।
मन्त्री बुढाथोकीले राजनीतिक र प्रशासनिक क्षेत्रले देश चलाउने बताउँदै दुबैको समन्वयमामात्र मुलुकले अगाडि बढ्ने जानकारी गराए ।
मन्त्री बुढाथोकी वि.सं. २०७० मा भएको संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट प्रत्यक्ष प्रणालीमार्फत् निर्वाचित भएका हुन् ।
वि.सं. २०२४ मा विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका मन्त्री बुढाथोकीले ९ महिना जेलजीवनसमेत बिताएका छन् ।
झापाको शनिश्चरे–२ मा वि.सं. २००१ जन्मिएका मन्त्री बुढाथोकी पञ्चायती व्यवस्थाअन्तर्गत्को अन्तिम मन्त्रिपरिषदमा जलस्रोत सहायकमन्त्री थिए ।
पदभार समारोहमा मन्त्रालयका सचिव टंकमणि शर्माले मन्त्रालयमा भइरहेका र आगामी कार्यहरुकाबारेमा जानकारी गराएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्