
फाइल फोटो
भक्तपुर, भदौ ११ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले देश र जनताको हितमा हुनेगरी संविधान संशोधन गर्न तयार रहेको बताएका छन् ।
युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले संविधान गतिशील र परिवर्तनशील दस्तावेज भएकाले औचित्य, अभ्यास, अनुभव र आवश्यकताका आधारमामात्र संशोधन हुनसक्ने बताएका हुन् ।
उनले भने–‘कसैलाई सत्तामा पुर्याउने भर्याङ बनाउन र कोही–कसैको स्वार्थ पूरा गर्नकाखातिर संविधान संशोधन हुन सक्दैन ।’
उनले एमालेलाई मधेसमा एक वा दुई प्रदेश मान्य नभएको बताउँदै ‘सीमांकनको फैसला केही ठालु व्यक्तिले होइन, जनता र जनताका प्रतिनिधिले टुंग्याउनुपर्ने’ बताए ।
नेता पोखरेलले अंगीकृत नागरिक देशको उच्चपदमा बस्न नपाउने अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालले पनि अंगीकार गरेको बताउँदै ‘केही अंगीकृत नागरिकता लिएका मधेसी नेताहरूले चाहँदैमा अंगीकृत नागरिकलाई मुलुकको उच्चपदमा आसिन गराउने प्रयास सफल नहुने’ बताए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य राजन भट्टराई, युवा नेता महेश बस्नेत, सांसद केदार सञ्जेल, एमाले जिल्ला उपाध्यक्ष वचन देउजा, युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, महासचिव किरण पौडेल, उपत्यका अध्यक्ष दीपक थापालगायतले युवा उत्पादनशील, सीपमूलक, रोजगारी र सिर्जनशील बन्नुपर्नेमा जोड दिए । रासस
प्रतिक्रिया दिनुहोस्