
-कोकिला ढकाल, ईमेज
इलाम, भदौ १९ । केही वर्ष यता अकबरे खुर्सानीले राम्रो बजार पाएसँगै इलामका किसान यसको खेतीमा लागेका छन् । खुर्सानी खेतीबाटै मनग्गे आम्दानी हुने भएपछि किसानहरु दंग देखिएका छन् ।
इलामको गाउं गाउंमा अहिले स्थानीयले अकबरे खुर्सानीको व्यवसायीक खेती सुरु गरेका छन् ।
जेठ, असार, साउन तीन महिना खुर्सानीको स्याहार गर्न निक्कै खटिनु परेपनि टिपाई शुरु भएपछिको आम्दानीबाट दङ हुने किसानहरुले एकै सिजनमा लाखौं रुपैयाँ कमाउने गरेका छन् ।
इलामको पञ्चकन्या, नामसालिङ, सुम्बेक, गोदक, कन्याम, बरबोटे लगायतका दर्जन बढी गाउं विकास समितिहरुमा अहिले अकबरे खुर्सानीको व्यवसायीक खेती गरिएको छ ।
छोटो समयमा उत्पादन हुने र राम्रो आम्दानी हुने भएकाले पछिल्लो समयमा अकबरेको व्यवसायिक खेती थालिएको किसान चन्द्रमाया राई बताउँछिन् ।
यो सिजनामा किसानले घरबाटै अकबरे प्रतिकिलो दुई सय ७० रुपैयाँ देखि चार सय रुपैयाँ सम्म बिक्री गरिरहेका छन् ।
दुर्गम गाउँहरुमा वर्षाको सिजनमा ढुवानीको भने निकै समस्या हुने गरेको छ । गाउँबाट पिकप गाडी र घोडा मार्फत ढुवानी गर्नुपर्दा सग्लो गरि अकबरे बजार पुर्याउन मुस्किल हुने गरेको किसान तोपबहादुर बस्नेत बताउँछन् ।
इलाममा उत्पादित अकबरेको बजार भने झापाका विर्तामोड, दमक, विराटनगर, धरान, पोखरा, काठमाडौं हुन् ।
पछिल्ला वर्षहरुमा यहाँको अकबरे भारत सहित तेस्रो मुलुक पनि जान थालेको किसानहरु बताउँछन् । इलाममा आर्थिक वर्ष २०७१/०७२ मा ५ सय ९७ मेट्रिक टन अकबरे उत्पादन भएको कार्यालयको तथ्यांक छ । जिल्लाको १ सय ६२ हेक्टरमा अकबरे खेती भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्