२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


हिन्दु नारीहरु तीज पर्व मनाउँदै (भिडियो)


0
Shares

काठमाडौं, भदौ १९ । हिन्दु नारीहरुले आइतबार हरितालिका तीज पर्व मनाइरहेका छन् । निराहार ब्रत बसेर भगवान शिवको पुजाअर्चना गरी यो पर्व मनाउने गरिन्छ ।

हिन्दु नारीहरु नाचगान, पुजापाठ र ब्रत बसेर हर्षाेल्लासका साथ तीज मनाउने गर्दछन् । पौराणिककालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवजीलाई पति पाउँ भनी निरहार तपस्या गरेको र पछि भगवान शिवलाई पति पाएको धार्मिक विश्वास छ ।

यसैको निरन्तरतास्वरुप हिन्दु महिलाहरुले तीज पर्व मनाउने गर्छन् । समय क्रमसंगै यो पर्व अब धार्मिक स्वरुपमा मात्र रहेन, पछिल्लो समय नारीहरुले यसलाई आफ्नो स्वतन्त्रताको पर्वका रुपमा समेत मनाउँदै आएका छन् ।

तीज सुरु हुनुभन्दा अगाडीदेखि नै महिलाहरु एक आपसमा भेटघाट, नाचगान र मिठो खानेकुरा खाने गर्छन् ।

तीजको दिन बिहानैदेखि काठमाडौंको पाशुपत क्षेत्र रंगिन बन्ने गर्छ । घाम–पानी केही नभनी महिलाहरुले लामवद्ध भएर भगवान पशुपतिनाथको पूजाआजा गर्दछन् ।

रातो पहिरन अनि सौभाग्यको प्रतीकस्वरुपको चुरा पोतेमा सजिएका महिलाहरु यस्तो अवसरमा खुलेर नाचगान गर्ने गर्छन् । हिन्दू नारीहरुले तीज गीतमार्फत् आफ्ना भावना अभिव्यक्त गर्ने गर्दछन् ।

सासु–बुहारीबीचको सम्बन्ध होस् वा माइतीतिरको सम्बन्ध चेलीहरुले गीतमार्फत् नै अभिव्यक्त गर्ने गर्दछन् ।

तीजको दिन पाशुपत क्षेत्रमा रमाइलो हेर्नेहरुको भीडसमेत बाक्लै हुने गर्छ । पाशुपत क्षेत्रमा पुगेका हिन्दू नारीहरुले पतिको दीर्घायुको कामना गर्छन् भने अविवाहितले सुयोग्य बरको ।

विवाहित होस् या अविवाहित सबै हिन्दू नारीले आफ्ना भावना साट्ने पर्वका रुपमा तीज मनाउने गर्दछन् । यो चाडको महत्व जति धेरै छ, उति नै भड्किलो पनि बन्दै गएको छ । तीजको नाममा भित्रिएका विकृतिलाई अन्त्य गर्दै यसलाई सुसंकृत रुपमा मनाउन सक्यौं भने तीजको महत्व अझै बढ्नेछ ।