२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


उपमहानगरपालिकाको ‘नमूना भवन’ नै अवैधानिक


0
Shares

काठमाडौं, भदौ २१ । इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा पोखरीमाथि निर्माण गरिएको छ कार्यकारी अधिकृतको कार्यकक्ष भवन ।

त्यस्तै, पूर्वपट्टी सांस्कृतिक भवन छ । तर, यी दुवै भवन अवैधानिक रहेको खुलासा भएको छ ।

कार्यकारी अधिकृतको कार्यकक्ष रहेको भवन मेचीकाली पोखरीमाथि ६ वर्षअघि तत्कालीन कार्यकारी अधिकृत गणेशराज कार्कीले निर्माण गरेका हुन् । तर, यो भवन नक्सापासविना नै निर्माण गरिएको हो ।

०५४ मा नगरपालिका बनेको इटहरी ०७१ मा उपमहानगरमा स्तरोन्नति भयो ।

इटहरी उपमहानगर भएपछि पशुपति खतिवडा कार्यकारी अधिकृत भएर आए र अहिले महेशराज तिम्सिना कार्यकारी अधिकृत छन् ।

पोखरीमाथि भएकाले गर्मी मौसममा पनि कार्यकारी अधिकृतको कार्यकक्ष रहेको भवनमा शीतल हावा चल्छ । त्यही शीतल वातावरणमा केही तातो निर्णय भइरहेको हुन्छ उपमहानगरमा ।

अघिल्ला र अहिलेका दुवै कार्यकारी अधिकृतले केही तातो निर्णय गरिसकेका छन् यस भवनबाट । तर, अलिहेसम्म भवन नक्सापास नगरी बनाइएको भन्ने विषयमा भने दुवैजनाको ध्यान गएको देखिएन ।

उपमहानगरका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले आफ्नो कार्यकक्ष रहेको भवन नक्सापासविना नै बनेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘तपाईँले यस विषयमा जानकारी दिनुभयो, अब म कार्यालयपरिसरका अवैधानिक भवनहरूलाई वैधानिक बनाउन विशेष पहल गर्नेछु ।’

उपमहानगर कार्यालय परिसरमा ०५८ मा निर्माण भएको तीनतले सांस्कृतिक भवन पनि नक्सापास नगरी बनाइएको पाइएको छ । लक्जेम्बर्ग सरकारको आर्थिक सहयोगमा निर्माण भएको भवन जग्गा विवादका कारण नक्सापास नगरी बनाइएको उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहालले बताए ।

बहुसांस्कृतिक संग्रहालय बनाउने उद्देश्यले निर्माण गरिए पनि भवनको दुईवटा कोठा सभाहलका रूपमा प्रयोग हुँदै आएको छ भने भुइँतलाको उत्तरतर्फको कोठा इलाका प्रहरी कार्यालय इटहरीले प्रयोग गर्दै आएको छ । –नयाँ पत्रिका दैनिकबाट