४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


महिला संघको तेस्रो महाधिवेशन बुधबारदेखि, अध्यक्षमा क–कसको चर्चा ?


0
Shares

काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघको तेस्रो महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

महाधिवेशनको दिउँसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंको भृकुटीमन्डपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

महाधिवेशनको बन्दसत्र भृकुटीमन्डपमै हुने भएपनि निर्वाचन भने राष्ट्रिय सभागृहमा गरिनेछ ।

निर्वाचित र मनोनीत गरी २ हजार २ सय ४४ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।

संघको नेतृत्व लिन उम्मेदवारहरुले दौडधुप तीव्र पारेका छन् । संस्थापनपक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष र कृष्णप्रसाद सिटौलापक्षले उम्मेदवार उठाउने तयारी थालेका छन् ।

पौडेलपक्षले नेत्री मीना पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सभापति देउवा समूहबाट चित्रलेखा यादव, उमा अधिकारी र मञ्जु खाँडको नाम चर्चामा छ । देउवाले उम्मेदवार तय गर्न निर्देशन समितिमा रहेका आफ्नोपक्षका सदस्यहरूलाई जिम्मा दिएका छन् ।

त्यस्तै, सिटौलापक्षबाट धना खतिवडाको नेतृत्वमा चुनावी मैदानमा जाने निर्णय भएको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला समूहले छुट्टा–छुट्टै भेला गरी ‘शक्ति प्रदर्शन’ गरेका छन् ।