
नयाँदिल्ली, भदौ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चारदिने राजकीय भ्रमणकाक्रममा विहीबार दिउँसो नयाँदिल्ली आइपुगेका छन् ।
प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले स्वागत् गरिन् ।
प्रधानमन्त्रीको स्वागतार्थ विमानस्थलमा यहाँस्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल, भारतको विदेश मन्त्रालयका उच्च अधिकारी तथा नेपाली दूतावासका अधिकृत उपस्थित थिए ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमन्डलका सदस्य परराष्ट्रमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, सांसदलगायतलाई उनीहरूले स्वागत् गरे ।
प्रधानमन्त्री दाहाल, उनकी धर्मपत्नी सीता दाहाल भारतका राष्ट्रपतिको निवास राष्ट्रपति भवनमा रहनेछन् ।
प्रधानमन्त्री दाहालले विहीबार अपराह्न यहाँस्थित नेपाली समुदायसँग नेपाली राजदूतावासमा छलफल गर्ने कार्यक्रम छ ।
विहीबारै साँझ प्रधानमन्त्री दाहाल आफ्नो सम्मानमा आयोजना हुने स्वागत् समारोहमा सरिक हुनेछन् ।
प्रतिनिधिमन्डलका अरु सदस्य पनि दुबै समारोहमा सहभागी हुने कार्यक्रम छ । रासस
प्रतिक्रिया दिनुहोस्