
इनरुवा, भदौ ३१ । आफ्नै छोरालाई पशुझैं सिक्रीमा बाँधेर राख्नुपर्दाको पीडा सुनसरी औरावनी गाविस–९ का भगवान साहले ८ वर्षदेखि भोग्दै आएका छन् । तर, उनीसँग योबाहेक अर्काे विकल्प छैन ।
मानसिक सन्तुलन गुमाएका साहका २२ वर्षीय छोरा अमित विगत ८ वर्षदेखि सिक्रीमा बाँधिएका हुन् । उनको उपचारका लागि साह परिवारसँग पैसा छैन ।
‘पैसा र पहुँच हुनेले देश विदेशका सुविधा सम्पन्न अस्पतालमा उपचार गराउँछन् । तर, आफूलाई न खान छ न बस्न कहाँबाट छोराको उपचार गराउनु ? गरिबको जिन्दगी यस्तै हुँदोरहेछ’ अमितकी आमा तितरीको दुःखेसो छ ।
आर्थिक अवस्था कमजोर भएकै कारण मानसिक रोगी अमितलाई घरमै बाँधेर राख्नुपरिरहेको हो ।
उपचारका लागि आर्थिक समस्या छ । स्थानीय एक विद्यालयमा कक्षा–९ मा पढ्दै गर्दा अमितले मानसिक सन्तुलन गुमाएका हुन् । अहिलेसम्म अमितका घरमा कोही पनि सहयोगी र अधिकारकर्मी पुग्न सकेका छैनन् ।
अमितको परिवारले उनलाई उपचार गर्दै नगरेको पनि होइन । भारतसम्म पुर्याएर उपचार गराउँदा पनि आर्थिक समस्याले नै पिरोलेकाले ८ वर्षदेखि आफ्नै छोरालाई फलामे सिक्रीले बाँधेर राख्न बाध्य भएका परिवार अमितको उपचारमा कसैले सहयोग गरे उपचार गराउने आशमा छ ।
तर, अहिलेसम्म उनलाई सहयोग गर्ने हातहरु नजुटेको साहकोे गुनासो परिवारको छ । रासस
प्रतिक्रिया दिनुहोस्