
इस्लामावाद, चैत २५ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कार्यालयमा आगलागी भएको छ ।
उनको सचिवालयमा सोमबार दिउँसो भएको आगलागीमा परी कुनै मानवीय क्षति र कोही घाइते भने नभएको अधिकारीहरुले जनाएका छन् ।
संसद भवननजिकै रहेको उच्च सुरक्षा घेराभित्रको भवनको तेस्रो तलाको शौचालयमा आगलागी भएको प्रधानमन्त्रीका सल्लाहकार यौसाफ बैघ मिर्जाले बताए ।
कार्यालयमा आगलागी भएको बेला प्रधानमन्त्री खान कार्यालयमै एउटा बैठकको अध्यक्षता गरिरहेको सल्लाहकार मिर्जाले जानकारी दिए ।
आगलागी भएको थाहा पाउनेवित्तिकै अग्निनियन्त्रक र उद्धारकर्ताहरुले कार्यालयमा रहेका प्रधानमन्त्री खानसहित सबैलाई तत्काल कार्यालयबाहिर निकालेका थिए ।
विद्युत् सर्ट भएर आगलागी भएको अधिकारीहरुले जनाएका छन् ।
आगो तत्कालै नियन्त्रणमा लिइएको थियो । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्