Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


अख्तियार प्रमुखको नियुक्ति सम्बन्धी फाइल मन्त्रिपरिषद कार्यालयमै


0
Shares

काठमाडौं, असोज ३ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै रहेको खुलेको छ ।

आइतबारको मन्त्रिपरिषद बैठकमा स्वास्थ्य मन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको विषय उठाएका थिए । थापाले जिज्ञासा राखेपछि मुख्यसचिव सोमलाल सुवेदीले नियुक्तिसम्बन्धी माइन्यूट कार्यालयमै रहेको जानकारी दिएका थिए ।

‘नियुक्तिको माइन्यूट हराएको थिएन । प्रधानमन्त्री कार्यालयमै छ । हामी केही दिनमै अदालतमा त्यसबारे जवाफ दिन्छौ,’ मुख्यसचिव सुवेदीले भने, ‘बाहिर भनिएजस्तो भूकम्पका कारण कागजात तल–माथि परेको होइन ।’

कार्कीविरुद्ध परेको रिट पुनरावलोकनका क्रममा सर्वोच्च अदालतले भदौ १० मा फाइल झिकाउने आदेश दिएको हो ।

त्यसमा प्रतिउत्तरपत्र बुझाउँदै प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयले ‘भूकम्पका कारण फाइल भेट्टाउन नसकिएको र खोजी भइरहेको’ लिखित जवाफ दिएका थिए । –कान्तिपुर दैनिकबाट