Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


अरनिको यातायातको सिन्डिकेट तोडियो


0
Shares

काठमाडौं, असोज १९ । काभ्रेको कोसीपारि क्षेत्रमा अरनिको यातायातको सिन्डिकेट तोडिएको छ । सुनकोसी पूर्व यातायात प्रालिले दसैंको मौका पारी १६ टाटासुमो गाडीबाट मंगलबारबाट सेवा सुरु गरेपछि अरनिकोको सिन्डिकेट तोडिएको हो ।

कोसीपारिमा अरनिकोको एकाधिकारका कारण थोरै गाडी चल्दै आएका छन् । थोरै गाडीमा यात्रुको चाप बढी हुँदा बेलाबेला ठूला दुर्घटना हुने गरेको छ । गत महिनामात्र कोसीपारि २७ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको थियो ।

काभ्रेका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त अधिकारीले ऐन, कानुन अनुसार नयाँ यातायात कम्पनी आउन पाउने बताए । ‘राज्यको ऐन, कानुन मानेर आउने यातायात कम्पनीलाई स्वागत गर्ने सरकारको नीति हो,’ उनले भने, ‘यातायातमा सिन्डिकेट तोड्ने राज्यको दायित्व हो ।’

उनले प्रक्रिया पुर्‍याएर आउने यातायात कम्पनीलाई आवश्यक परे सुरक्षा व्यवस्था मिलाउने बताए ।

सुनकोसी पूर्व यातायात प्रालिले यातायात व्यवस्था कार्यालय वाग्मतीबाट अस्थायी रुट परमिट लिएर सञ्चालन गरेको अध्यक्ष रमेश सेढाईंले जानकारी दिए । उनका अनुसार तत्काल १६ वटा सुमो सञ्चालन गरिएकोमा बिस्तारै थप्दै लगिनेछ । १७ वटै गाविसमा सेवा दिने उनले जानकारी दिए । ‘कच्ची सडकमा ठूला गाडीले जोखिम बढाएपछि स्थानीयको मागका आधारमा सञ्चालन गरेका हौं,’ सेढाईंले भने, ‘सबै गाविस र रुटमा सेवा पुर्‍याउन गाडी संख्या थप्दै लैजान्छौं ।’

अरनिकोले काभ्रेसहित सिन्धुपाल्चोक, रामेछाप, दोलखा जिल्लामा एकलौटी गाडी चलाउँदै आएको छ । ती जिल्लामा सिन्डिकेट नभएको देखाउन उसले विभिन्न समितिको नाममा गाडी सञ्चालन गर्दै आएको छ । जिल्लाको कोसीपारि क्षेत्रमा उसले कोसीपारि यातायात, चौतारामा जुगल, बाह्रबिसेमा सुनकोसी, दोलखा, रामेछाप (लोकल टिप)मा सगरमाथा, दोलखा, रामेछापबाट काठमाडौं चल्नेमा अरनिको सुपर, सिगटीमा गौरीशंकर यातायातको नाममा अरनिकोले सेवा सञ्चालन गर्दै आएको छ । ती सबैको मूल समिति अरनिको यातायात नै हो । –कान्तिपुर दैनिकबाट