काठमाडौं, चैत १७ । सरकारले अत्यन्त महत्व दिएर आयोजना गरेको दुई दिने लगानी सम्मेलन शनिबार सम्पन्न भयो । सम्मेलन अत्यन्त सफल भएको सरकारको दाबी छ ।
तर, सम्मेलन अघि ३० खर्ब बढीको लगानी भित्र्याउने सरकारको योजना भने खासै उपलब्धिमुलक हुन सकेन ।
लगानी सम्मेलनले कति रकम भित्र्याउन सफल भयो भन्ने तथ्यांक हालसम्म सरकारले सार्वजनिक गरेको छैन । लगानी सम्मेलनको अन्तिम दिन १५ वटा आयोजनामा लगानी गर्ने सम्झौतापत्रमा हस्ताक्षर भयो । तर, कतिपय आयोजना जुन कार्यान्वयन चरणमा गईसकेका छन्, त्यसमा पुनः हस्ताक्षर गरिएका छन् ।
अरूण तेस्रो, कालीगण्डकी गर्ज, त्रिशुली जलविद्युत आयोजनाजस्ता आयोजनामा पुनः हस्ताक्षर गरिएको हो । नेपालमा कार्यालय नै स्थापना गरी काम सुरु गरिसकेका कम्पनीबीच पनि सम्झौता गरिएको छ ।
सरकारले ७७ वटा परियोजना शो केसमा राखेकोमा १७ वटा परियोजनामा मात्र विदेशी लगानीकर्ताले चासो देखाएका छन् ।
यद्यपी सरकार र निजी क्षेत्रले लगानी सम्मेलन अत्यन्त सफल भएको बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मेलन पूर्ण सफल भएको भन्दै नेपालमा गरिएको लगानीको राम्रो प्रतिफल पाउने बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरीभक्त शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल सम्मेलन नेपाल लगानीका लाग उपयुक्त गन्तव्य रहेको सन्देश दिन सफल भएको बताउँछन् ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलन सफल भएको भन्दै १७ वटा परियोजनामा परेको आवेदन छिट्टै टुङ्ग्याइने बताए ।
सम्मेलनमा ४० देशका तीन सय कम्पनीका ७३५ विदेशी सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्