
राजस्थान, चैत १७ । भारतको राजस्थानमा भारतीय वायुसेनाको एक लडाकु विमान दुर्घटना भएको छ ।
‘मिग २७’ विमान नियमित अभ्यासका क्रममा आइतबार दुर्घटना भएको भारतीय अधिकारीहरुले जनाएका छन् । शिवगंजस्थित गोडाणा गाउँ नजिकै विमान खसेको जनाइएको छ ।
विमानका टुक्राहरु खेतमा छरिएका छन् । विमान खसेपछि आगो लागेको स्थानीयले जनाएका छन् ।
विमान कसरी दुर्घटना भयो भन्नेबारे प्रष्ट हुन सकेको छैन ।
पछिल्लो समय भारतीय लडाकु विमान दुर्घटना बढ्न थालेको छ । यसअघि राजस्थानकै बीकानेर जिल्लामा ‘मिग २१’ दुर्घटना भएको थियो । त्यसैगरी जम्मू कश्मीरको बडगममा पनि भारतीय वायुसेनाको ‘एमआइ–१७’ विमान दुर्घटना भएको थियो ।
यसैबीच पाकिस्तानी अखबार ‘जंग’ ले भारतीय सेनाले नै आफ्नो विमान भूलवस खसाल्ने गरेको दावी गरेको छ । उनले फेब्रुअरी २७ मा दुर्घटना भएको भनिएको एउटा भारतीय लडाकु विमान भारतीय सेनाकै कारवाहीमा खसेको दावी गरेको छ ।
सो अखबारले पहिलो पृष्ठमा ‘भारतले आफ्ना ६ सैनिकलाई मा¥यो, हेलिकप्टर पनि नष्ट’ शीर्षकमा समाचार प्रकाशित गर्दै पाकिस्तानी विमान ठानेर भारतीय सेनाले आफ्नै विमान खसालेको दावी गरेको हो ।
उक्त विमान भारतीय सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट खसेको सो अखबारको दावी छ ।
केही अघि भारतीय अखबार ‘इकोनोमिक टाइम्स’ले फेब्रुअरी २७ मा भएको वायुसेनाको विमान दुर्घटनाबारे छानविन भएको जनाएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्