Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


उपचार खर्चको अभावले अस्पतालमै आत्महत्या


0
Shares

काठमाडौं, कात्तिक १९ । विराटनगरस्थित विराट नर्सिङ होममा उपचाररत सुनसरी, कुसाहाका २५ वर्षीय अनुज विश्वासलाई अस्पतालले डिस्चार्ज गर्ने सूचना दियो । सँगै रहेका उनका दाइ मनोजले पैसाको जोहो गर्न घरमा रहेका बाबु बासुरामलाई फोन गरे ।

कान्छो छोरा निको भएर घर फर्कने खबरले हौसिएका बासुराम पैसा जुटाउन गाउँ निस्के तर, केही बेरमै खबर आयो, ‘अनुजले अस्पतालबाटै हामफाले ।’

बिहीबार दिउँसो सवा तीनबजे अस्पतालको तेस्रो तलाबाट हामफालेका अनुजको तत्कालै मृत्यु भयो । चर दिनअघि घरकै शौचालयमा बेहोस भएपछि उनलाई नर्सिङ होम लगिएको थियो ।

अस्पतालमा उपचार खर्च धेरै भएपछि उनले आत्महत्या गरेको परिवारजनको भनाइ छ । विपन्न अवस्थाका अनुज दैनिक मजदुरी गरेर पेट पाल्दै आएका थिए । उनका श्रीमती र अढाइ वर्षकी छोरी छन् । –कान्तिपुर दैनिकबाट