३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


ब्रेक्जिटबारे अन्यौल कायमै, बेलायती प्रधानमन्त्री मे लाई धक्का


0
Shares

काठमाडौं । बेलायतले युरोपेली संघ छाड्ने ब्रेक्जिट प्रक्रियालाई व्यवस्थित पार्ने प्रधानमन्त्री टेरिजा मेको अन्तिम भनिएको मौका पनि विफल भएको छ ।

सरकारले संसद्मा प्रस्तुत गरेको त्यसबारेको प्रस्तावलाई ३ सय ४४ जना सांसदले अस्वीकृत गरिदिएका हुन् । प्रस्तावको पक्षमा २८६ सांसद उभिएका थिए ।

यससँगै ब्रेक्जिट प्रक्रियालाई २२ मेसम्म लम्ब्याउने प्रधानमन्त्रीको प्रयासमा ठेस पुगेको छ ।

आफ्नो प्रस्ताव तुहिएसँगै प्रधानमन्त्री टेरिजा मेले यो मतदानको नतिजा धेरै नै खतरनाक र अब बेलायत १२ अप्रिलमा युरोपेली संघबाट बाहिरिनै पर्ने कानुनी बाध्यता हुने बताएकी छन् ।

यसले गर्दा कुनै पनि सम्झौताविना यूरोपेली संघबाट बाहिरिनबाट बच्न बेलायतले कानुन बनाउन अब उसँग खासै समय नरहने बताइएको छ ।

विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री मेले राजीनामा दिनुपर्ने बताउँदै तत्काल चुनाव गराउन माग गरेका छन् ।

ब्रिटिश संसदमा तेस्रो पटक ब्रेक्जिट प्रस्ताव अस्वीकृत भएपछि यूरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले ट्विट गर्दै ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्समा कुनै पनि सम्झौता विना बाहिरिने प्रस्ताव खारिज भएको कुरालाई ध्यानमा राख्दै आफुले १० अप्रिलमा युरोपेली परिषद्को बैठक बोलाउने फैसला गरेको जनाएका छन् ।

मतदानअघि ब्रिटिश सांसदहरूबीच तिक्ततापूर्ण वादविवाद भएका थिए । ब्रेक्जिटका कट्टर समर्थक कन्जरभेटिभ दलका नेत इयान डनकन स्मिथले यसपटक मन नलागि–नलागि सरकारको प्रस्तावको समर्थन गर्न लागेको बताएका थिए ।

तर विपक्षी लेबर दलका सांसद मेग हिलियरले सम्पूर्ण ब्रेक्जिट प्रक्रिया नै अन्योलपूर्ण भएको टिप्पणी गरेका छन् । (एजेन्सी)