३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


गत वर्षको विकास खर्च पाँच वर्षयताकै कम


0
Shares

काठमाडौं, मंसिर २ । आर्थिक वर्ष ०७२/७३ मा पछिल्ला पाँच वर्षयताकै कम पुँजीगत खर्च भएको छ । अघिल्लो वर्ष ०७१/७२ को तुलनामा ३२ अर्ब धेरै खर्च भए पनि विनियोजित बजेटको अनुपातमा खर्च प्रतिशत कम छ ।

आव ०६९/७० पछि पुँजीगत खर्चमा सरकारी योगदान निरन्तर ओरालोतिर छ । अस्थिरताबीच पनि अघिल्ला वर्षमा ७० प्रतिशत नाघेको विकास खर्च आव ०७२/७३ मा घटेको छ ।

गत आवमा सरकारले विनियोजित बजेटमध्ये १ खर्ब २७ अर्ब रुपैयाँ फ्रिज भएको थियो । यो सरकारले अनुमान गरेको ५९ अर्बभन्दा दोब्बर बढी हो ।

सरकारले अघिल्लो वर्षलाई ‘बजेट कार्यान्वयन वर्ष’ घोषणा गरेको थियो । तर, सरकारको घोषणा असफल रह्यो । भूकम्प र नाकाबन्दीका कारण खर्च नभएको अर्थ मन्त्रालयको भनाइ थियो । सरकारले संविधान कार्यान्वयनसँगै बजेट खर्च बढ्ने अपेक्षासहित बजेट कार्यान्वयन वर्ष घोषणा गरेको थियो ।

संविधानपछि विकासका गतिविधि र पुँजीगत खर्च बढ्ने अनुमान गलत साबित भयो । –नयाँपत्रिका दैनिकबाट