३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


ससुराली र धनको आडमा लिन्छन् भारतीयले नागरिकता


0
Shares

काठमाडौं, मंसिर ७ । असोज दोस्रो साता इलाका प्रहरी कार्यालय लहान–५ मा कुटाकुट भयो । कुटपिट गर्ने लहान–५ का ज्याउल रहमानमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलायो । मुद्दाको फाइलसहित अरोपित रहमानलाई बयानका लागि सरकारी कार्यालय सिरहा लगियो । तर, लहान–५ स्थायी निवासी रहमानले आफू भारतीय नागरिक भएको बयान दिए ।

सार्वजनिक अपराधसँगै प्रहरीले रहमानको नागरिकताबारे बुझ्यो । अनुसन्धानमा देखियो– नामः मोहमनद ज्याउल रहमान, पिताको नाम दोस्त मोहमद, नागरिकता नम्बर १५३००५/२०१ लाहन–५ सिरहा । नागरिकता जारी गर्ने टोली प्रमुख शिवराम यादव । रहमानले ०६३ चैत २९ मा लहान–५ मा खटिएको नागरिकता टोलीबाट जन्मसिद्ध नागरिकता प्रमाणपत्र लिएका थिए ।

भारत मधुवनी जिल्ला लौकाहा ग्रामपञ्चायत–९ स्थायी घर भएका रहमानले कसरी नेपाली नागरिकता पाए ? इलाका प्रहरी कार्यालय लाहानका प्रहरी निरीक्षक पाचु चौधरी भन्छन्, ‘नेपाली नागरिकतामा पिता बनेका दोस्त मोहम्मद रहमानका ससुरा हुन् ।’

बिहारका कुख्यात अपराधी मुखियाजी भनेर चर्चित धीरेन्द्र यादवले सुनसरी र सप्तरीबाट नागरिकता लिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । ०६३ मा सुनसरीको पश्चिम कुशाहा गाविसबाट महेश यादवको नाममा उनले नेपाली नागरिकता लिएका थिए ।

धीरेन्द्रको समूहका सुटर भनेर चिनिने अर्का कुख्यात बमबम यादलवले पनि सुनसरीबाट नागरिकता लिएका थिए । यादवकै समूहका उनले नक्कली बाबु र साक्षी खडा गरेर नागरिकता वितरण गर्ने घुम्ती टोलीबाट नागरिकता प्राप्त गरेका थिए ।

गृह मन्त्रालयका अनुसार ०५५ यता गैरकानुनी रुपमा गैरनेपालीले लिएको नागरिकता रद्द गरिएका मध्ये ९५ प्रतिशत भारतीय छन् । –नागरिक दैनिकबाट