Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


डोनाल्ड ट्रम्पले पदभार सम्हालेको पहिलो दिन के गर्दैछन् ?


0
Shares

काठमाडौं, मंसिर ७ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले पदभार सम्हालेको पहिलो दिन ट्रान्स प्यासिफिक पार्टनरसीप व्यापार सम्झौताबाट फिर्ता हुने बताएका छन् ।

जनवरीमा ह्वाइट हाउस प्रवेश गरेपछि आफूले के गर्ने भन्नेबारे एक भिडियो सन्देश जारी गर्दै ट्रम्पले टीपीपीबाट अलग्गिने घोषणा गरेका हुन् ।

टिपीपी सम्झौता अमेरिकी राष्ट्रपति बाराक ओबामाको व्यापार नीतिको एक प्रमुख हिस्सा रहँदै आएको छ ।

टिपीपी व्यापार सम्झौता विश्वको अर्थतन्त्रको ४० प्रतिशत हिस्सा ओगट्ने १२ देशले हस्ताक्षर गरेका थिए । सम्झौतामा जापान, मलेसिया, अष्ट्रेलिया, न्यूजील्याण्ड, क्यानडा तथा मेक्सिकोले हस्ताक्षर गरेका छन् ।

सम्झौताका हस्ताक्षरकर्ताहरुले त्यसले आर्थिक सम्बन्ध गहिरो बनाइ वृद्धि हासिल गर्ने उद्देश्य लिएको बताउने गरेका छन् भने विरोधीहरुले सो सम्झौता गोप्य रुपले गरिएको ठूला कम्पनीहरुलाई फाइदा हुने खालको भएको भन्ने गरेका छन् ।

यसअघि सोमबार जापानी प्रधानमन्त्री सिन्जो आवेले अमेरिका विना ट्रान्स प्यासिफिक पार्टनरशीप व्यापार सम्झौता अर्थहीन हुने बताएका थिए ।

यससँगै अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिकी उर्जा उत्पादनमा लगाइएका तगारा हटाउने, व्यापारमा लागेको नियमन खुकुलो पर्ने, साइबर हमलासँग जुध्न योजना बनाउने, भीजा दुरुपयोग अनुसन्धान गर्ने तथा सरकारी सेवा छाडेकाहरुलाई पाँच वर्षसम्म कसैको पक्षमा काम गर्नबाट प्रतिबन्ध लगाउने काम आफूले पहिलो दिन गर्ने काम भएको घोषणा गरेका छन् । (एजेन्सी)