Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट पाँचजना घर फर्कन पाएनन्


0
Shares

काठमाडौं, मंसिर ८ । हेटौंडास्थित नापी कार्यालयमा आगलागी हुँदा घाइते भएका सर्वसाधारण उपचार खर्च तिर्न नसक्दा जिल्ला अस्पतालमा अलपत्र परेका छन् ।

गत कात्तिक १० गते हेटौंडा ५ स्थित नापी कार्यालयको भाडाको घरमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा २६ जना घाइते भएका थिए । तीमध्ये उपचार खर्च तिर्न नसक्दा पाँचजना घाइते हेटौंटा–११ स्थित चुरेहिल अस्पतालबाट घर फर्कन सकेका छैनन् ।

अस्पतालको दोस्रो तलामा आरती बिसंखे छटपटाइरहेकी छन् । दुबै खुट्टाको अप्रेसनपछि उनलाई तीन दिनअघि डाक्टरले घर गएर आराम गर्न भनेका थिए । आफन्तको सहयोगमा अस्पताल प्रशासनमा पुग्दा उनलाई घर जान दिइएन ।

‘दुबै खुट्टा अप्रेसन गरेको तीन लाख ५० हजार रुपैयाँ तिर्न सकिनँ, पैसा नतिरे यही बस्नु भनेपछि म अस्पतालमै अलपत्र परेकी छु,’ बिसंखेले भनिन्, ‘म एकल महिला, यत्रो पैसा कहाँबाट ल्याएर तिर्नु ?’

दुई सन्तानकी आमा बिसंखेको १० वर्ष अघि नै पति बितेका थिए । छुट्टिएर बसेकी उनी भूकम्पले घर भत्किएपछि सरकारले दिने अनुदान लिन जग्गा पास गर्ने क्रममा नक्सा बनाउन ससुरा दीपकसँगै नापी कार्यालय पुगेकी थिइन् । दीपकको पनि देब्रे खुट्टा भाँचिएको छ ।

बुहारीसँगै उनलाई पनि डाक्टरले घरमा गएर आराम गर्न भनेका छन् । ‘पैसा तिर्न सकिएन, त्यसैले अस्पतालको बेडमै बसिरहेको छु,’ दीपकले भने, ‘कसले उपचार खर्च दिने हो अत्तोपत्तो छैन ।’

हेटौंडा–६ का जयराम स्याङतान, हेठौंडा–९ का अरुणकुमार जोशी, हेटौंडा–२५ का रिना तिमल्सिना पनि उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट घर जान पाएका छैनन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट