
-टेकराज अवस्थी, ईमेज
डडेल्धुरा, मंसिर १३ । भारत सरकारले नोट सटहीमा प्रतिबन्ध लगाए संगै त्यसको असर डडेल्धुराका सर्वसाधारणमा पनि परेको छ ।
स्थानीय व्यापारीहरुले मनपरी रुपमा भारतीय रुपैयांको मुल्य घटाएर कालोबजारी समेत सुरु गरेका छन् । जसको प्रत्यक्ष मारमा सर्वसाधारण परेका छन् ।
एक भारतीय नोट प्रतिबन्धको प्रभाव सुदूरपश्चिमी जिल्ला डडेल्धुरामा पनि परेको छ । भारत सरकारले पांच सय र एक हजार नोट सटहीमा प्रतिबन्ध लगाएसंगै त्यसको असर डडेल्धुरका सर्बसाधारणमा पनि परेको हो ।
रोजगारीका लागि भारत गएकाहरुले लिएर आएका पांच सय र हजारका नोटहरु सटही नहुँदा सर्वसाधारण मारमा परेका छन ।
चाडबाड मनाउन आएकाहरुले लेराएको रकम डडेल्धुरामा अहिले भारु पांच सयको नेपाली सात सयमा र भारु हजारको नेपाली रुपैंया १२ सयमा सटही गरी काम चलाउनु पर्ने बाध्यता रहेको सर्बसाधारण बताउँछन ।
भारु नोटको कारोबार बन्द भएपछि डडेल्धुरा सदरमुकामको मुख्य बजार बागबजार अहिले सुनसान जस्तै भएको स्थानीय व्यापारी बताउंछन् ।
नोटको कारोबार बन्द हुँदा सुदूरपश्चिमका सबै जिल्लाहरुमा बिहे, बर्तबन्धदेखि व्यापार, व्यवसाय समेत ठप्प बनेको पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष छत्र साउद बताउँछन् ।
ब्यापारीले कमिसन लिंदै ब्ल्याक मार्केटिङ गर्न थाल्दा समेत स्थानीय प्रशासन भने मौन रहेको छ । स्थानीय व्यापारीले थोरै रकममा भारु पांच सय र हजारको नोट साटेर भारतमा लाने गरेको स्थानीय बताउंछन् ।
उता, भारतीय सरकारले जारी गरेको दुई हजारको नोटहरु चलन चल्तीमा नआउंदै नक्कली नोटका कारण पनि सर्बसाधारण आतंकित बनिरहेका छन ।
प्रतिक्रिया दिनुहोस्