२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


भिडियो गेमका कारण ब्राजिलियन फुटबल खेलाडी सवार विमान दुर्घटना !


0
Shares

ब्राजिल, मंसिर १७ । ब्राजिलियन फुटबल खेलाडीहरु सवार विमान कोलम्बियामा भएको दुर्घटनाका बारे नयाँ तथ्यहरु प्रकाशमा आउने क्रम जारी छ ।

विमानमा इन्धन सकिएका कारण दुर्घटना आएलगत्तै विमानमा किन पर्याप्त इन्धन थिएन भन्ने तथ्य पनि प्रकाशमा आएको छ ।

समाचार एजेन्सीहरुका अनुसार एक खेलाडीले विमानस्थलमा आफ्नो भिडियो गेम हराएका कारण विमान निर्धारित समयभन्दा निकै ढिलो उडेको थियो । विमानले ब्राजिल र बोलिभियाबीच पर्ने कोबिजामा इन्धन भर्ने योजना बनाएको भए पनि उडानमा ढिलाइ भएका कारण त्यहाँ इन्धन भर्न नपाइएको तथ्य प्रकाशमा आएको हो ।

समाचार एजेन्सीहरुका अनुसार राति कोबिजा विमानस्थल बन्द हुने भएका कारण विमानले इन्धन भर्न पाएको थिएन । उडानमा ढिलो हुँदा विमानस्थल बन्द भइसकेपछि मात्र उक्त विमान सो क्षेत्रमा पुगेको थियो ।

विमानमा भएको इन्धनले उडान भर्न सक्ने दुरीको तुलनामा २० मिनेट बढीसमय यात्रा गर्नुपर्ने अवस्था आएकाले इन्धन अभावमा विमान खसेको बताइएको छ ।

पाइलटले बोगोटामा इन्धन भर्न सक्ने अवस्था रहे पनि सोझै कोलम्बियातर्फको यात्रा रोज्दा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)