
वासिंटन, मंसिर १७ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ रक्षामन्त्रीमा जनरल जेम्स म्याटिसलाई नियुक्त गर्ने भएका छन् ।
ओहिओमा आयोजित र्यालीमा ट्रम्पले म्याटिसको नाम लिँदै उनी सर्वश्रेष्ठ रहेको पनि बताए । ‘म्याड डग’ को नामले चिनिने जनरल म्याटिस मध्यपूर्व राष्ट्रप्रति ओबामा प्रशासनको नीतिको आलोचक मानिन्छन् ।
विशेषगरी उनी इरान नीतिको आलोचक हुन् । म्याटिस कडा रुपमा इरानप्रति अविश्वास र रणनीतिक सूझबुझका लागि परिचित छन् ।
मध्यपूर्वको शान्ति तथा स्थिरताका लागि इरान सबैभन्दा बढी खतरा रहेको म्याटिसको ठहर छ । सेवानिवृत्त म्याटिसले सन् १९९१ मा भएको पहिलो खाडी युद्धमा एक बटालियनको नेतृत्व गरेका थिए ।
सन् २००१ मा दक्षिणी अफगानिस्तानमा एक ‘टास्क फोर्स’को कमाण्ड गरेका उनी सन् २०१३ मा अमेरिकी केन्द्रीय कमाण्डका कमाण्डर भई सेवा निवृत्त भएका हुन् ।
तर ट्रम्पलाई म्याटिस नियुक्त गर्न संवैधानिक बाधा भने पार गर्नुपर्ने छ । अमेरिकी कानून अनुसार सेवानिवृत्त भएको ७ वर्षपछि मात्र कुनै पनि पूर्वसैन्य अधिकारी रक्षामन्त्री नियुक्त गर्न सकिने छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्