
मेडिलिन (कोलम्बिया), मंसिर १८ । कोलम्बियामा गत सोमबार भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव शुक्रबार ब्राजिल लगिएको छ ।
ब्राजिलका खेलाडीको टोली रहेको उक्त विमान घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो ।
उनीहरुको शव स्वदेश फर्काउँदा उनीहरुलाई अन्तिम बिदाइ गर्न फूल, सेतो बेलुन र झन्डा लिएर हजारौं मानिस विमानस्थल वरिपरिका सडकमा आएका थिए ।
कोलम्बियाको पहाडी इलाकामा ठोक्किएर भएको विमान दुर्घटना इन्धन अभावको कारण भएको बताइएको छ ।
दुर्घटना हुनुअगाडि विमानका चालकले विमानमा इन्धनको अभाव भएको र इन्जिनले काम गर्न छाडेको सूचना ‘कन्ट्रोल टावर’मा पठाएको जानकारी दिएका थिए ।
कोलम्बियाका सन्चारमाध्यमले बुधबार जनाएअनुसार मेडेलिननजिकै दुर्घटना हुनुअगाडि विमानका चालकले ‘यहाँ इन्जिनले काम गर्न छाड्यो, इन्धन पनि छैन’–भनेका थिए ।
दुर्घटनामा परी दक्षिण अमेरिकाको दोस्रो ठूलो फुटबल प्रतियोगिताका लागि गएका ब्राजिलका फुटबल खेलाडी र २० जना पत्रकारलगायत ७१ को मृत्यु भएको थियो ।
यस दुर्घटनालाई खेलको इतिहासमा नै अत्यन्त दुःखद् घटनाकारूपमा लिइएको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्