काठमाडौं, मंसिर २० । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने ३० दलका नेताहरुलाई आइतवार आफ्नो निवासमा बोलाएर मिलेरै समाधान खोज्न आग्रह गरेकी छन् । संविधान सशोधनको विषयप्रति चासो राख्दै उनले संविधान कार्यान्वयनका तगारा खुलाएर चुनावमा जान पनि नेताहरुलाई सुझाव दिइन् ।
बैठकको सुरु मै बोलेका एमाले अध्यक्ष केपी ओलीले प्रदेश नम्बर ५ को सीमांकन हेरफेर प्रस्तावलाई राष्ट्रघाती र अपारदर्शी ढंगबाट आएको प्रस्ताव भन्दै अब फेरबदल नहुने अडान राखे । ओलीले संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने भन्दै त्यसो गरेमा सहमतिका अन्य विकल्पबारे सोच्न सकिने बताए ।
‘म पहाड मधेस छुट्याएर प्रदेश बन्न दिन्नँ, त्यो राष्ट्रघाती सोच हो,’ ओलीलाई उद्धृत गर्दै बैठकमा सहभागी स्रोतले भन्यो, ‘संशोधन होइन, संविधान कार्यान्वयन अहिलेको आवश्यकता हो । सरकारले पुरक बजेट ल्याउने भनेको छ, त्यो औचित्यहीन र अनावश्यक हो । हामी त्यसलाई समर्थन गर्दैनौं ।’
ओलीले ४ महिनाको अवधिमा यो सरकारले संविधानको कार्यान्वयनमा के–के काम गरेको छ भनी सामुन्ने रहेका प्रधानमन्त्री पुष्पकमल दाहालप्रति जिज्ञासा राखेका थिए ।
ओलीपछि राप्रपा अध्यक्ष कमल थापा बोले । उनले सडकमा रहेका आन्दोलनकारीलाई संसद फर्कन तत्कालीन प्रधानमन्त्री ओली आफैले विगतमा गरेको आह्वानको स्मरण गराए । ‘हाम्रो पार्टीको औपचारिक निर्णय आउन बाँकी छ, तर आन्दोलनरत पक्षहरुको माग सम्बोधन हुनुपर्छ । पहिले हामी सरकारमा सँगै रहेका बेला सडकमा तमासा होइन, सदनमा आएर छलफल गरौं भन्थ्यौं, अहिले (प्रस्ताव) फिर्ता लिन भन्ने ? अब फेरि सडकमा जाउ भन्ने ?’
थापापछि नेकपा माले अध्यक्ष सीपी मैनालीले सीमांकन हेरफेर गर्न नहुने बताए । उनले संशोधन प्रस्ताव षडयन्त्रपूर्ण ढंगले आएको भन्दै राष्ट्रिय हितविरुद्ध आफू नजाने तर्क गरे ।
‘साथीहरु कतातिरको प्रस्ताव कहाँ गएर छलफल गर्नुहुन्छ ? मलाई त आश्चर्य लागेको छ,’ मैनालीले भने ।
मैनालीपछि बोलेका सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाले नवलपरासीदेखि बर्दियासम्म सीमांकन गर्ने प्रस्ताव कांग्रेस र एमालेकै पुरानो प्रस्ताव भएको भन्दै प्रतिपक्षमा बसेपछि फरक कुरा नगर्न ओलीलाई आग्रह गरका थिए । ‘त्यसबेला सभापति सुशील जी (कोइराला) र ओलीजीले हस्ताक्षर गरेको सहमति नै अहिले हामीले अघि बढाएको हो । त्यो बेला प्रस्ताव राष्ट्रघाती थिएन, अहिले राष्ट्रघाती भयो ?’
देउवाले बोल्दै गर्दा ओली छेवैमा रहेका एमाले उपाध्यक्ष वामदेव गौतम र सुवास नेम्वाङसँग कानेखुसी गरेका थिए । ओलीको कानेखुसी नरोकिएपछि देउवा बम्किदै नेता ओलीको ध्यानाकर्षण गराएका थिए । देउवाले राजनीतिक समाधान खोज्ने बेला विषयान्तर नगर्न आग्रह गर्दै मधेसको मुद्दा समाधान नगरी संविधान संविधान कार्यान्वयन नहुने बताए ।
‘मधेसीहरु हाम्रै दाजुभाइ हुन्, कसैका विरुद्ध दुर्भावना नफैलाउने काम नगरौं, राजनीति रोक्ने होइन, अगाडि बढ्ने कुरा गरौं,’ देउवाले भने, ‘यो संशोधन प्रस्ताव पास गरिएन भने चुनाव सोच्न पनि सकिन्न । हुनै नसक्ने चुनाव घोषणा गरेर के गर्ने ?’
उनले ओलीतिर हेर्दै चुनाव गर्न पनि संविधान संशोधन आवश्यक रहेको बताए । –कान्तिपुर दैनिकबाट




प्रतिक्रिया दिनुहोस्