
काठमाडौं, पुस १ । नेपाल श्रीलंकामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।
शुक्रबार भएको आफ्नो दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित हुँदै नेपाल मलेसियासँग खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिएको हो ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल विहीबार श्रीलंकासँग १ रनले हारेको थियो ।
शुक्रबारको खेलमा नेपालले दिएको १७३ रनको लक्ष्य भारतले ३३ ओभर ३ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि पवन सर्राफले ३ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।
यसअघि, बलियो प्रतिद्वन्द्वी भारतलाई अहिलेसम्मकै सबैभन्दा बढी रनको लक्ष्य दिनेक्रममा नेपालले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा १७२ रन बनायो ।
रोहितकुमार पौडेलले अविजित रहँदै ६८ रन बनाउनेक्रममा नन्दन यादवसँग मिलेर दशौं विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए ।
दीपेन्द्रसिंह ऐरीले ३४, आशिफ शेखले १८ तथा प्रकाश केसीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर पुर्याएनन् ।
भारतका लागि राहुल चहारले ५ विकेट लिए । यसअघि, नेपालले ढाकामा भएको युवा विश्वकपमा भारतलाई १६९ रनको लक्ष्य दिएको थियो ।
नेपाल रहेको समूह ‘ए’बाट भारत र श्रीलंका सेमिफाइनलमा पुगेका छन् । भारतले विहीबार मलेसियालाई २३५ रनले हराएको थियो ।
त्यस्तै, श्रीलंकाले शुक्रबार मलेसियालाई ८ विकेटले हरायो ।
नेपालले आगामी आइतबार मलेसियासँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।
यता, अर्को समूहबाट अफगानिस्तान र सिंगापुरलाई हराउँदै बंगलादेश सेमिफाइनलमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्