
-सन्दीप पौड्याल/ विजय श्रेष्ठ
पर्यटनका दृष्टिले नेपाल विश्वमै उत्कृष्ट गन्तव्य मानिन्छ । तर उचित प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा नेपालका थुप्रै सम्भावित क्षेत्र ओझेलमा छन् । यस्तै अथाह सम्भावना बोकेको तर हालसम्म ओझेलमा रहेको ठाउँ हो गोरखाको भुम्लिचोक ।
समुद्रि सतहबाट १६५० मिटर उचाइमा रहेको भुम्लिचोकमा मगर, नेवार र गुरुङ समुदायको बाहुल्यता छ । भुम्लिचोकलाई पर्यटकीय गन्तव्यको रुपमा प्रचार गर्न नेपाल मगर पर्यटन समाज समेत जुटेको छ ।
समाजले यस स्थानलाई पर्यटनकर्मी माझ चिनाउन हालै भुम्लिचोक भैरवी होमस्टे ट्रिप कार्यक्रम समेत आयोजना ग¥यो । होमस्टे ट्रिपमा पर्यटन व्यवसायी, पत्रकारलगायतका टोलीले एक रात बिताएर फर्किएका छ ।
गोरखाको फिस्लिङबाट करिब दुई घण्टाको पैदल हिँडेर पुगिने यो ठाउँ प्राकृतिक तथा साँस्कृतिक हिसाबले धनी रहेको नेपाल मगर पर्यटन समाजका उपाध्यक्ष राजकुमार थापा बताउँछन् ।
काठमाडौं र पोखराबाट नजिक रहेकाले टे«किङ र टुरिज्मका लागि यो ठाउँ उपयुक्त भएको नेपाल मगर पर्यटन समाजका संस्थापक अध्यक्ष कृष्ण मगर बताउँछन् । भुम्लिचोकबाट माछापुच्छ«ेदेखि गौरीशंकर हिमालसम्मको अवलोकन गर्न सकिन्छ । मौलिक परम्परागत संस्कृति यहाँको अर्को आकर्षण हो ।
सरकारले घुमफिर वर्ष मनाइरहेको सन्दर्भमा भुम्लिचोकलाई पनि पर्यटकीय गन्तव्य बनाउने पहल भएको हो । नेपालको पर्यटन प्रर्वद्धनका लागि यो ठाउंको विकास जरुरी रहेको गुरुङ पर्यटन व्यवसायी संघका उपाध्यक्ष अमिर गुरुङ बताउँछन् ।
अथाह सम्भावना रहेको यो ठाउँको होमस्टेलाई विकास गर्न पहल गर्ने नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरको भनाइ छ ।
आफ्नो गाउँको विकास आफैं गर्नुपर्छ भन्ने सुनेका यहाँका बासिन्दाले आफ्नै पहलमा होमस्टे शुरु गरेका हुन । गाउँमा पुग्ने पर्यटकको टोलीलाई पञ्चेबाजा, कौराहा, चुड्काजस्ता मौलिक गीत, फूलमाला तथा स्थानीय परिकारले स्वागत गर्ने गरिएको छ ।
यहाँको भैरवी चौर, भैरवी मन्दिर, पोखरी, दूधपोखरी, बुढीगण्डकी, सुन्दर टार, घना जंगल पर्यटकलाई आकर्षित गर्ने ठाउँ हुन् ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको मुख्य रोजाई ग्रामिण क्षेत्रका होमस्टे बनेका छन् । यस्ता पर्यटकीय सम्भावना बोकेका गाउँलाई सरकारले नै प्रचारप्रसार गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्