२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


संसद अवरुद्ध गरेर कोहीपनि राष्ट्रवादी हुँदैन : प्रधानमन्त्री


0
Shares

                                                                                         फाइल फोटो
‘मधेसी, थारु, जनजातिलाई हेपेर संविधान कार्यान्वयन गर्न सकिँदैन्’–गोरखाको मुच्चोकमा निर्माण भएको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको शुक्रबार गोरखामा उद्घाटन गर्दै उनले भने–‘यो संविधान सबैको संविधान बनाउनका लागि संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ ।’

प्रधानमन्त्री दाहालले कांग्रेसका तत्कालीन सभापति स्व. सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार नै तराईका जिल्ला समेटेर–५ नम्बर प्रदेश निर्माण गर्न लागिएको बताउँदै ‘कांग्रेस र एमालेकै प्रस्तावअनुसार अहिले मैले संविधान संशोधनमार्फत् ५ नम्बर प्रदेशको प्रस्ताव ल्याएको हुँ’–भने ।

प्रतिपक्षमा रहेको नेकपा एमालेले संशोधन प्रस्तावको विरोध गर्न पाउँछ भन्दै उनले संसद अवरुद्ध गरेर कोहीपनि राष्ट्रवादी नहुने बताए ।

प्रधानमन्त्री दाहालले अवरुद्ध संसद खुलाउनेबारे छलफल भइरहेको बताउँदै निर्वाचनसम्बन्धी विधेयक, अख्तियारका पूर्वप्रमुखको महाअभियोगबारे छलफललगायत महत्वपूर्ण काम संसद अवरुद्ध हुँदा अघि बढाउन नपाएकोमा दुःख व्यक्त गरे ।

‘राष्ट्रवादको पक्षमा छौं भन्ने अनि संसद अवरोध गर्ने ? यो कहीँ–कतै केही मिलेन’ भन्दै उनले चित्त नबुझेका कुरा संसदमा राख्न एमालेलाई आग्रह गरे ।

‘संविधान संशोधन प्रस्ताव फेल गराएर देखाउनोस्’–प्रधानमन्त्री दाहालले एमालेलाई चुनौती दिँदै भने–‘फेल गराउन सक्नुहुन्न भने प्याकेजमै सहमति गरौं । प्रक्रियागतरुपमा सहमति गरौं । देशलाई निकासको बाटोमा लैजाऔं ।’

मधेसी, थारु, जनजातिलगायत सबैको संविधान बनाउन संविधान संशोधनको आवश्यकता परेको उनले बताए ।

प्रधानमन्त्रीले चुहावट रोक्दा र प्रविधिमा सुधार ल्याउँदा काठमाडौंमा लोडसेडिङमुक्त गर्न सकिएको भन्दै ऊर्जा मन्त्रालय र ऊर्जामन्त्रीलाई धन्यवाद दिएका छन् ।

स्वदेशी लगानीमा समयमै ‘कालीका पावर’ले आयोजना बनाएको भन्दै उनले देशमा लगानीको वातावरण बन्दै गएको बताए ।

प्रधानमन्त्री दाहालले भच्चेकमा सवस्टेसन बनाउन निर्देशन दिँदै बूढीगन्डकी आयोजनाबाट प्रभावितलाई छिट्टै मुआब्जा वितरण सुरु हुने पनि बताए ।

भूकम्पपछिको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै उनले भने–‘राहत, अनुदान पाउनबाट छुटेका भूकम्पपीडितलाई सम्बोधन गरिन्छ ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिँदै जनताको साथ लिएर थप परिवर्तन र विकास गर्ने बताए ।

ऊर्जामन्त्री जनाद्र्धन शर्माले देशलाई समृद्ध बनाउन ऊर्जा क्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने बताउँदै ‘जलविद्युत् आयोजना निर्माणमा जनताले ३० प्रतिशत सेयर राख्न पाउँछ’–भने ।

गोरखालगायत देशभरलाई लोडसेडिङमुक्त बनाउन सरकार लागिपरेको बताउँदै उनले गोरखामा विद्युतीकरण गर्न र लोडसेडिङमुक्त गोरखा बनाउनका लागि आवश्यक बजेटसहितको कार्ययोजना १५ दिनभित्र मन्त्रालयमा पेस गर्न नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रलाई निर्देशन पनि दिए ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले गोरखा लोडसेडिङमुक्त बनाउने अभियानलाई सघाउन आफूले निर्वाचन क्षेत्र विकास कोषको रु तीन करोड गोरखा क्षेत्र नम्बर–२ को विद्युतीकरणमा खर्च गर्ने गरी बजेट बाँडफाँड गरिसकेको जानकारी दिए ।

पालुङटार, छेपेटार, च्याङ्लीटारलगायत सुख्खाटारमा दरौंदीको पानीले सिँचाइ गर्न आवश्यक बजेटका लागि उनले प्रधानमन्त्रीको ध्यानकर्षण गराए ।

‘कालीका हाइड्रोपावर’ कम्पनीले करिब रु एक अर्ब ३० करोडको लगानी गरी मुच्चोकमा ६ मेगावाट क्षमताको दरौँदी ‘ए’ जलविद्युत् आयोजना निर्माण गरेको हो ।

आयोजनाबाट उत्पादन भएको विद्युत् गोरखास्थित सवस्टेसनमा जडान गरिसकिएको छ । रासस